तनहुँको दमौली अस्पतालमा राष्ट्रिय मिर्गौला उपचार केन्द्रमार्फत सञ्चालित शत्रुधन मञ्जु डायलासिस केन्द्रले पाँच वर्षको अवधिमा ३१ हजार २१६ पटक डायलालिस सेवा प्रवाह गरेको छ । विसं २०७२ मङ्सिर ३ गते स्थापना भएको केन्द्रले यस अवधिमा २४५ मिर्गौला पीडितलाई सेवा प्रवाह गरेको हो ।
केन्द्रका प्रमुख शैलेश पण्डितले यस अवधिमा तनहुँ सहित कास्की, स्याङ्जा, लमजुङ र गोरखा जिल्लाका मिर्गौला पीडितलाई पनि डायलासिस सेवा प्रदान गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रबाट हाल २४ जना मिर्गौला पीडितले नियमित डायलासिस सेवा लिइरहेका छन् । केन्द्रमा नौवटा उपकरण रहेकामा आठवटा उपकरण सञ्चालनमा रहेको छ ।
हेल्थ केयर फाउन्डेसन अफ नेपालले अस्पतालमा डायलासिस केन्द्र स्थापना गरेको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ वटा डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीनवटा उपकरण थप गरिएको छ । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधन उपाध्यायको स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो ।
जिल्लामा डायलासिसका लागि सेवा नहुँदा मिर्गौला पीडितलाई यस अगाडि अन्यत्रै जिल्लामा गएर सेवा लिनुपर्ने बाध्यता थियो । यस केन्द्रले तनहुँका अतिरिक्त छिमेकी जिल्लाका मिर्गाैला पीडितलाई पनि सेवा प्रवाह गरिरहेको व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ अब्दुल गफ्फार मियाँले जिल्लामै डायलासिसका लागि सुविधा भएपछि सहज भएको बताउनुभयो ।
काठे पोल विस्थापित गरिँदै
भिमाद नगरपालिका–९ मा काठे पोल विस्थापन गर्न शुरुआत गरिएको छ । काठे पोलले जोखिम बढाएपछि वडाका विभिन्न ठाउँमा काठे पोल विस्थापन गरी फलामे पोल राख्न शुरु गरिएको हो ।
उक्त वडाको पाथर्दी, जौपानी, सखेप, कटनछापलगायत ठाउँमा काठे पोल हटाएर फलामको पोल राख्न शुरु गरिएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । “वडाभित्र करीब डेढ– दुई सय काठको पोल बाँकी छन्, सबै विस्थापित गर्छौं,” थापाले भन्नुभयो, “त्यसका लागि स्थानीयवासीसँग सहकार्य गरेका छौँ ।”
यसका लागि स्थानीयवासीले ढुवानी र गाड्ने काममा श्रमदान गरेका छन् भने पोल नगरपालिकाले उपलब्ध गराएको छ । गण्डकी प्रदेश सरकारको काठे पोल विस्थापन कार्यक्रममार्फत नगरपालिकाका विभिन्न वडामा फलामको पोल उपलब्ध गराइएको छ ।
“काठे पोलले जोखिम बढाइरहेको थियो, हरियो रूख र बारीका कान्लाहरूमा लामो समयदेखि तारहरू असुरक्षित थियो, सबैलाई व्यवस्थापन गर्ने काम भइरहेको छ”, वडाध्यक्ष थापाले भन्नुभयो । पाथर्दीका युवा शिवकुमार आलेले स्थानीयवासीले पोल ढुवानीका लागि श्रमदान गरिरहेको जानकारी दिनुभयो ।
छिम्केश्वरी मन्दिर पुनर्निर्माणका लागि थप १५ लाख विनियोजन
आँबुखैरेनी गाउँपालिकाले जिल्लाकै अग्लो स्थानमा रहेको छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि रु १५ लाख थप बजेट विनियोजन गरेको छ । आँबुखैरेनी –५ लाब्दीमा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले मन्दिरको पुनर्निर्माणका लागि थप रु १५ लाख बजेट विनियोजन गरेको हो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा मन्दिरको पुनर्निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले चालू आवभित्रै मन्दिरको पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । “मन्दिर पुनर्निर्माणका लागि गत आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन भएको थियो, यस वर्ष थप रु १५ लाख थपेर रु ३० लाख पु¥याएका छौँ, यही वर्षभित्रै मन्दिर पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।” मन्दिरको पुनर्निर्माण गत वर्षदेखि शुरु भएको थियो ।
कार्यपालिका बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विभिन्न वडामा सञ्चालन गर्ने योजनाहरू छनोट गरेको छ । कार्यक्रमअन्तर्गत न्यूनतम रु दश लाख र बढीमा रु १८ लाखसम्मका योजना छनोट भएका छन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको म्याद थप गरिएको छ भने प्रशासनिक भवनको नजिकै रहेको अव्यवस्थित बसाइलाई केही क्षतिपूर्ति दिएर व्यवस्थापन गर्ने निर्णय भएको छ ।
गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले प्रचुर सम्भावना रहेर पनि ओझेलमा परेको छिम्केश्वरीको प्रचारप्रसारका लागि पहिलो पटक कार्यालयभन्दा बाहिर कार्यपालिका बैठक आयोजना गरिएको बताउनुभयो । “बैठकले छिम्केश्वरी मन्दिरको पुनर्निर्माणका लागि थप बजेट विनियोजन गर्न सफल भएको छ”, उहाँले भन्नुभयो, “छिम्केश्वरीमै आएर कार्यपालिका बैठक गरिनाले यसको प्रचारप्रसार हुनेमा विश्वस्त छौँ ।”
महाभारत शृङ्खलाको सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरीलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाउने गाउँपालिकाको लक्ष्य छ । धार्मिक पर्यटन केन्द्र बनाउनका लागि जनप्रतिनिधि आएदेखि नै गाउँपालिकाले विकास योजना सञ्चालन गरिरहेको थापाले जानकारी दिनुभयो । “यातायातको सहज सुविधा नभएका कारण मन्दिरको पुनर्निर्माणको काममा ढिलाइ भएको छ, क्रमिक रूपमा पूर्वाधार तयार गरिरहेका छौँ”, थापाले भन्नुभयो ।
छिम्केश्वरी मन्दिर आँबुखैरेनीवासीको मात्रै नभई हिन्दू धर्मप्रति आस्था राख्ने सबैको आस्थाको केन्द्रविन्दु भएकाले यसको प्रचारप्रसारका लागि सबै क्षेत्रबाट सहयोगको अपेक्षा राखिएको थापाले बताउनुभयो ।
समुन्द्री सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी मन्दिर अवस्थित छ । आँबुखैरेनीबाट लाब्दीसम्म १५ किमी कच्ची सडकमा जीप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपी, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।
गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।
कोभिडको प्रभाव अगाडि दैनिक ५० देखि एक सयसम्म भक्तजन आउने मन्दिरमा हाल भक्तजन आउने क्रम शुरु भएको पुजारी धनराज गुरुङले जानकारी दिनुभयो ।
चितुवा खोरमा
आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा आज बिहान खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले तिहारभन्दा अगाडि उक्त ठाउँमा राखेको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।
चितुवा अन्दाजी १२ वर्षको र ४० किलोभन्दा बढी रहेको सहायक वन अधिकृत सुरेश भुजेलले जानकारी दिनुभयो । “स्थानीयले पालेका वस्तुमाथि आक्रमण बढ्न थालेपछि कार्यालयले फलामको खोर राखेको थियो”, उहाँले भन्नुभयो, “खोरमा परेर भाले चितुवा नियन्त्रणमा आएको छ ।” नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।
जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु र शुक्लागण्डकी नगरपालिका तथा आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ । रासस
प्रतिक्रिया