चट्याङ लागेर मृत्यु भएका मृतकका परिवारलाई प्रदेश सरकारको आर्थिक सहयोग

चट्याङ लागेर मृत्यु भएका मृतकका परिवारलाई प्रदेश सरकारको आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेँसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय मृतक सन्तबहादुर विकका परिवारलाई गण्डकी प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ । गत असोज ५ गते साँझ चट्याङ लागेर मृत्यु भएका विकको परिवारलाई राहतस्वरुप आज प्रदेश सरकारले रु ५० हजार आर्थिक सहयोग गरेको हो ।

उक्त रकम प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, वडाध्यक्ष भोजबहादुर रिमाल र स्थानीयवासीको उपस्थितिमा प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सदस्य धनञ्जय दवाडीले मृतक विककी श्रीमतीलाई घरमै पुगेर हस्तान्तरण गर्नुभयो । सो रकम हस्तान्तरण गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारले राहत हस्तान्तरण गर्न ढिलो भए पनि यस रकमले परिवारलाई केही सहयोग पुगोस् भनेर प्रदेश सरकारले आर्थिक सहयोग गरेको हो ।” प्रदेश सरकारले यस्ता विपद्बाट घटनाबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप रु ५० हजार उपलब्ध गराउने व्यवस्था रहेको उहाँको भनाइ छ ।

राहतस्वरुप रकम पाएपछि मृतकको परिवारले खुशी व्यक्त गरेको थियो । मृतककी श्रीमती सन्तकुमारीले भन्नुभयो, “हाम्रो परिवारमा यत्रो ठूलो बज्रपात आइप¥यो, यस्तो बेलामा स्थानीय सरकारदेखि तीन वटै सरकारले साथ दिँदा मन केही हलुङ्गो भयो ।” विक उक्त समयमा घर नजिकै आफन्तकामा बस्दै गर्दा चट्याङ लागेर घाइते भई नगरपालिका ८ मा रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि लगिए पनि बाटामै मृत्यु भएको अस्पतालको घोषणा गरेको थियो । विकको मृत्युपश्चात् सङ्घीय सरकारका तर्फबाट जिल्ला प्रशासन कार्यालयले रु दुई लाख र नगरपालिकाले रु एक लाख राहतस्वरुप तत्कालै उपलब्ध गराएको थियो ।