बालबालिकालाई थोरै तलब र बढी समयसम्म काममा लगाउन सहज हुने कारण बालश्रमको प्रयोग भइरहेको पाइएको छ । बालश्रमप्रति अझै पनि समाजमा चेतना नपुगेको तथा बालश्रमलाई सामाजिकरूपमा स्वीकार गरिएको, बालबालिकाका लागि सहयोगको कार्यक्रमको अभावलगायतका कारणसमेतले कतिपय क्षेत्रमा बालश्रम व्याप्त रहेको देखिएको छ ।
दशकौँदेखि नेपालमा बालश्रमविरुद्ध चेतना, जागरण र सहयोगका कार्यक्रम सरकारी र विकासका साझेदार संस्थाबाट भए पनि सामान्यतयाः रोजगारीको अनौपचारिक क्षेत्र (रेष्टुरेन्ट, यातायात, निर्माण, कृषि, साना तथा घरेलु उद्योग, गलैँचा कारखाना, जरी कारखाना, इँटाभट्टा, आदि) लगायत घरेलु श्रममा पनि बालबालिकालाई संलग्न गराइएको देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा विभिन्न राष्ट्रिय दैनिक पत्रिका र विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशित घटनामध्ये बालबालिकालाई विभिन्न काममा लगाएका २३ वटा घटनाबाट ७९ बालबालिका (बालक ५७ र बालिका २२) प्रभावित भएको राष्ट्रिय बालअधिकार परिषद्का प्रवक्ता रामबहादुर चन्दले जानकारी दिनुभयो ।
परिषद्का अनुसार अधिकांश बालबालिका (६७ जना) पढाइ खर्च जुटाउन विभिन्न काममा संलग्न भएको र नौ जना घरेलु तथा होटलमा एवं तीन जना सार्वजनिक यातायातमा संलग्न भएको घटना सार्वजनिक भएको पाइएको छ । दश वर्ष वा सोभन्दा मुिनको १० बालबालिकासमेत काममा संलग्न रहेको जानकारी रहेको छ । केन्द्रीय तथ्याङ्क विभागबाट गरिएको नेपाल श्रमशक्ति सर्वेक्षणमा २०७६ बाट १७ वर्षमुनिका करिब दुई लाख ८६ हजार बालबालिका आर्थिकलाभको कार्यमा संलग्न भएको पाइएको छ । नेपालको संविधानको धारा ३९ को उपधारा ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन बन्देज लगाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले १८ वर्षमुनिका व्यक्तिलाई बालबालिका भनी परिभाषित गरेको छ ।
नेपालको राष्ट्रिय जनगणना, २०६८ अनुसार एक लाख चार हजार ७१४ बालबालिका (बालक ५६ हजार २६७ र बालिका ४८ हजार ४४७) कामकाजमा संलग्न रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागबाट सम्पादन गरिएको नेपाल बहुक्षेत्रीय क्लस्टर सर्वेक्षण, २०७१ (सन् २०१४) अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका ३७.४ प्रतिशत बालबालिका बालश्रममा संलग्न रहेको पाइएको छ ।
प्रतिक्रिया