दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै : माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै : माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, १२ मङ्सिर । दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायिक माहुरीपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइअन्तर्गत घोराही र तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली गाउँपालिकामा माहुरी जोन कार्यक्रम लागु गरिएको छ ।

घोराही–१८ फुर्सेखालीका युगराज पोखरेलले चार घार माहुरीबाट शुरु गर्नुभएको व्यवसायमा अहिले ६० घार भएका छन् । केही वर्ष पहिले गाईपालन गर्न भएका पोखरेल पेशा परिवर्तन गरेर माहुरी व्यवसाय गर्नुभएको छ । उहाँ प्रत्येक मौसममा रु ६ लाखसम्मको मह र रु दुई लाख बराबरको माहुरीको गोला बिक्री गर्ने गरेको बताउनुहुन्छ ।

दाङमा महको व्यापार राम्रो छ । चरनको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन । तोरी, चिउरी जस्तो फूल मुख्य चरनका रुपमा भए पनि बाह्रै महिना उपलब्ध नहँुदा चरनका लागि जिल्ला बाहिर चितवन, कपिलवस्तु र कैलाली लैजानुपर्ने बाध्यता छ । अन्य जिल्लामा लगेका समयमा भने पर्याप्त मह उत्पादन नहुने उहाँले बताउनुभयो ।

तुलसीपुर–८ की सरस्वती आचार्यले चार वर्षअघिदेखि माहुरीपालन व्यवसाय शुरु गर्नुभएको छ । उहाँसँग ३२ घार माहुरी छन् । आधुनिक घारमा व्यवस्थित माहुरीपालन गर्दा मह काढ्न सजिलो हुन्छ । मह र माहुरी बेचेर वार्षिक रु तीन लाख आम्दानी गरिँदै आएको उहाँ बताउनुहुन्छ । तुलसीपुरमै मह प्रशोधन उद्योग भएकाले प्रशोधनको समस्या छैन । उत्पादित मह बिक्रीको कुनै समस्या नरहेको र चरन राम्रो भएमा प्रतिघार २२ किलोसम्म मह उत्पादन हुने आचार्यको अनुभव छ । खेतबारीमा गरेको मेहनतका तुलनामा माहुरीपालनमा त्यति धेरै मेहनत गर्न नपर्ने, सजिलै आम्दानी हुने र घरखर्च चलाउन सजिलो भएकाले यो व्यवसायमा लागेको उहाँ बताउनुहुन्छ ।

माहुरी जोन परियोजना दाङका प्रमुख महेश रेग्मीले माहुरीपालनका लागि उर्वर भूमि भएकाले कार्यक्रमको योजना र लक्ष्यअनुसार दाङ अगाडि बढेको बताउनुभयो । दाङका तीन स्थानीय तहमा माहुरी जोन घोषणा गरेर कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सो कार्यक्रम १० वर्षको रहेको र त्यसमा २० घारभन्दा बढी माहुरीपालन गरेका कृषक आबद्ध छन् ।

गत वर्ष तुलसीपुरमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । दुई कृषकलाई माहुरीको घार बोक्नेलगायत सम्बन्धित तालीम दिइएको थियो । यसअघि दाङमा मकै र तोरी जोन सफल देखिएपछि माहुरीपालनको सम्भाव्यता अध्ययन गरी कार्यक्रम थप गरिएको जनाइएको । जोनमा आबद्ध भएसँगै किसानलाई प्राविधिक तथा अन्य सहयोग सरकारले उपलब्ध गराएको छ ।

नेपाल माहुरीपालन महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठका अनुसार गत वर्षका तुलनामा यस वर्ष १०० टन बढी मह उत्पादन भएको छ । चरण व्यवस्थित गरिएका कारण मह उत्पादन वृद्धि भएको हो । दाङ जिल्लाका किसानले १६ हजार घार माहुरी पालेका छन् । यसबाट साढे ६०० टन भन्दा बढी मह उत्पादन हुने गरेको छ । प्रतिकिलो रु २५० देखि ४०० सम्ममा बिक्री हुँदै आएको छ । जिल्लाबाट मह काठमाडौँ, कास्की, सुनसरी, बुटवल, स्याङ्जा, पाल्पा, बाँकेलगायत जिल्लाका शहरमा बिक्री गरिँदै आएको श्रेष्ठ बताउनुुहुन्छ । दाङमा नारायणपुर, तुलसीपुर, रामपुर, फुर्सेखाली, लक्ष्मीपुर, धर्ना, गुरुवागाउँ र मसिना चरनका लागि हावापानीको हिसाबले उपयुक्त क्षेत्र मानिन्छन् । रासस