गुल्मी, १४ मङ्सिर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान अवस्थामा जनताको रुचि मन्त्री वा प्रधानमन्त्री फेर्नेमा नभएको बताउनुभएको छ ।
उहाँले वर्ष–वर्षदिनमा सरकार फेर्न बानी परेकाहरुलाई सरकार फेर्न छट्पटी भएको उल्लेख गर्दै यो खेलमा लागेर जनतालाई पीडा नदिन आग्रहसमेत गर्नुभयो । सत्यवती गाउँपालिकाको अश्लेवामा आज खानेपानी योजनाको उद्घाटन गर्दै मन्त्री ज्ञवालीले नेकपामा केही समयदेखि देखिएको विवादमाथि टीप्पणी गर्दै जनताले वर्तमान सरकारबाट रोजेको मुख्य कुरा रिजल्ट, डेलिभरी र आउटपुट रहेको बताउनुभयो ।
वर्तमान अवस्थामा कोही पनि निराशाका सन्देशबाट विचलित नहुने आग्रह गर्दै उहाँले देश समृद्धिको याज्ञामा अघि बढेको उल्लेख गर्नुभयो । सरकारले गरेका राम्रा कामका बारेमा चर्चा नगरेर नकारात्मक कुरा गरेर टिप्पणी गर्नुभन्दा रचनात्मक सुझाव दिनसमेत दलहरुलाई उहाँले आग्रह गर्नुभयो ।
उहाँले सरकार परिवर्तन हुन्छ भन्ने बजार हल्ला निराधार भएको उल्लेख गर्दै जनताले बाहेक बाहिरबाट सरकार परिवर्तन गर्ने खेल घातक हुने चेतावनीसमेत दिनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सरकार जनताका न्यूनतम आवश्यकता पूरा गर्दै ठूलाठूला पूर्वाधारका काममा अघि बढेको उल्लेख गर्नुभयो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको रु एक करोड ९६ लाख ४२ हजार ७९८ लागतमा अस्लेवामा खानेपानी सम्पन्न भएको छ । दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको यो आयोजनाले अस्लेवाका १९४ घरमा ‘एक घर एक धारा’ पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनीयर प्रकाश न्यौपानले बताउनुभयो ।
त्यसैगरी मन्त्री ज्ञवाली आज सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा पहिरो पीडितका लागि निर्मित नमूना एकीकृत बस्ती हस्तान्तरण कार्यक्रममा समेत सहभागी बन्नुभएको थियो । रासस
प्रतिक्रिया