विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा रमाउँदै युवा

विदेशबाट फर्केपछि सामूहिक कृषि व्यवसायमा रमाउँदै युवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–पेमा लामा

पाँचखाल नगरपालिका–२ अनैकोटका बोधनाथ तिमल्सिना हिजोआज गोलभेँडा टिप्न, औषधि छर्न र त्यसलाई बजारीकरण गर्दैमा व्यस्त छन् । उहाँको दैनिकी अहिले टनेलभरि फलेको गोलभेँडालाई सुरक्षित गर्ने, बिक्री गर्ने र त्यसको उचित व्यवस्थापन गर्नु हो । त्यसरी काम गरेर उहाँले अहिले सबै खर्च कटाएर मासिक रु ५० देखि ६० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।

रोजगारीका लागि अफगानिस्तान गएर नौ महिना काम गरेपछि कम्पनी खारेज भएर स्वदेश फर्कनुभएका उहाँ पछि फेरि दुबईमा गएर श्रम गर्नुभयो । त्यसपछि मलेसियामा जानुभएका उहाँ अहिले आफ्नै घरमा बसेर राम्रो आम्दानी गरिरहनुभएको छ । मासिक रु २८÷३० हजारका लागि परिवारदेखि टाढा बसेर विदेशी भूमिमा श्रम गर्न बाध्य भएका उहाँले पुनः नेपाल फर्केपछि परिवार पाल्न थोरै सङ्ख्यामा कुखुरा पालेर बसेको अनुभव सुनाउनुभयो । पछि मन मिल्ने साथीको सामूहिक योजनामा सहभागी भएर अहिले उहाँ कृषि व्यवसाय सञ्चालन गरिरहनुभएको छ ।

“विदेशी भूमिमा बगाएको पसिना आफ्नै भूमिमा परिवारसँगै बसेर बगाउन पाउँदा छुट्टै आनन्द हुँदोरहेछ”, उहाँले भन्नुभयो, “पहिला केही आधार थिएन र विदेसिएँ, अहिले अलिअलि कमाएको छु । त्यहाँ जतिकै यहाँ श्रम र परिश्रम गरेको खण्डमा मासिक रु ४५÷५० हजार सजिलै कमाई हुने रहेछ ।”

त्यस्तै सोही ठाउँका निरोज खतिवडा पनि उहाँसँगै कृषि व्यवसायमा सक्रिय हुनुुहुन्छ । मलेसियामा गएर फर्कनुभएका उहाँ अहिले गाउँमा नै साथीहरुसँग मिलेर सामूहिक कृषि व्यवसायमा संलग्न भई राम्रो आम्दानी गरिरहनुभएको छ । उहाँको काम कृषि फार्मको व्यवस्थापन गर्नु हो । योजना बनाउने र कार्यान्वयनका लागि साथीहरुसँगै खटिरहनुभएका उहाँले भन्नुभयो, “विदेशमा उनीहरुले भनेअनुसार काममा खट्नुपर्छ, जतिखेर भन्यो त्यतिखेर नै काममा जानुपर्छ, त्यही अनुसारले यही बसेर गरेको खण्डमा धेरै आम्दानी गर्न सकिन्छ भन्ने अहिलेको हाम्रो खटाई अनुसारको आम्दानीले पनि पुष्टि गरेको छ ।”

सोही ठाउँका अर्का युवा १५ वर्षअगाडि देखि ब्वायलर कुखुरापालन व्यवसाय गर्दै आउनुभएका दीपक तिमल्सिनाले कुखुरा फार्मको रेखदेख गर्नुहन्छ । व्यक्तिगत रुपमा पहिलादेखि सोही काम गर्दै आउनुभएका उहाँले पछिल्लो समयमा सामूहिक रुपमा काम गर्ने उद्देश्यले अगाडि बढेको बताउनुभयो । त्यस बेलादेखि सङ्घसंस्था, भेटेरिनरी र दाना कम्पनीहरुले दिएको तालीमबाट सिकेका सीपलाई उपयोग गर्दै निरन्तर लागिरहनुभएका उहाँले अहिले हप्तामा दुई गाडी अण्डा बजारमा बिक्री गर्दै आउनुभएको छ । जिल्लाकै पाँचखाल, दोलालघाट र छिमेकी जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे, खाँडीचौर, मेलम्चीलगायत बजारक्षेत्रमा उहाँले उत्पादन गरेको अण्डा बिक्री हुने गरेको छ ।

‘पाँचखाल साझेदारी कृषि फार्म’ दर्ता गरी सञ्चालन गरिरहेको व्यवसायमा पाँचजना विदेशबाट फर्केका र छजना स्थानीय कृषक गरी ११ जना सहभागी छन् । करीब दुई वर्षअगाडिबाट शुरु गरेको सो फार्ममा अहिले गोलभँेडा, काउली, काँक्रो, घ्यू सिमी, ब्वायलर र अण्डाका लागि लेयर्स कुखुरा छन् । त्योसँगै अहिले आलु खेतीका मौसम भएकाले त्यसतर्फ समेत उनीहरु खटिरहेका छन् । करीब १४५ रोपनी जग्गा भाडामा लिएर शुरु गरेको व्यवसायमा अहिले करीब ७० रोपनीमा टनेल हालेर गोलभँेडा उत्पादन गर्दै बिक्री गरिरहेको छ ।

त्यस्तै अण्डाका लागि १५ हजार लेयर्स कुखुरा छ भने मासुका लागि चार हजार ब्वायलर कुखुरा पालन गरिरहेका छन् । अब अर्को वर्षमा त्यसको दोब्बर बढाउने लक्ष्यका साथ काम गरिरहेको उहाँहरुको भनाइ छ । दैनिक एक सय क्रेटभन्दा माथिको गोलभेँडा बिक्री भइरहेको छ । त्यसरी काम गरेर आफूहरु मात्रै नभएर स्थानीयवासी १२ जनालाई समेत रोजगारी दिएको बताइएको छ । दुईजना पुरुषलाई मासिक २५ हजार र १० जना महिलालाई मासिक १५ हजार गरी १२ जनालाई रोजगारीसमेत दिएको उहाँहरुको दाबी छ ।

सो फार्मको नेतृत्व रमेशप्रसाद खतिवडाले गरिरहनुभएको छ । विगत ५÷७ वर्षअगाडिबाट व्यवसाय गर्दै आउनुभएकाले उहाँले पछिल्लो तीन वर्षदेखि सो फार्मको नेतृत्व गर्दै आउनुभएको हो । “समूहमा मिलेर काम गरौँ भन्ने उद्देश्यले हामी ११ जना साथी मिलेर यो कामको थालनी गरेका हौँ”, उहाँले भन्नुभयो, “सबै गर्दा करीब १४५ रोपनीमा दुई करोड लगानीमा काम भइरहेको छ ।” त्यससँगै अब फार्मबाट नै कुखुराको माक्स दाना उत्पादन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।

फार्मको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका कौशल्य तिमल्सिनाले व्यक्तिगतभन्दा सामूहिक रुपमा काम गर्दा बढी व्यावसायिक बन्न मद्दत मिल्ने भएकाले सबैजना मिलेर नै काम गर्न थालेको बताउनुभयो । “समूहमा हामी अवस्थाअनुसार समयसयममा छलफल गरेर सबै उत्पादनहरुको एकमुष्ट रुपमा हिसाब राख्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “लगानी अनुसारको प्राप्त नाफालाई त्यही अनुसारले बाँडेर लिने गरेका छौँ ।”

त्यसरी काम गर्दा कुखुरा, तरकारी, अण्डा लगायतका काममा छुट्टाछुट्टै हिसाब गर्ने र त्यसलाई वार्षिक रुपमा एक ठाउँमा राखेर हिसाब गर्ने गरेको फार्मका अध्यक्ष खतिवडाले बताउनुभयो । वार्षिक रु एक करोडको नाफा लिने लक्ष्यका साथ काम गरिरहेको उहाँको भनाइ छ । सामूहिक रुपमा यसरी व्यवसाय गरिहेका आफूहरुलाई राज्यले अनुदान उपलब्ध गराएको खण्डमा अझ व्यवसायलाई वृद्धि गर्दै रोजगारीसमेत दिन सक्ने अध्यक्ष खतिवडाको भनाइ छ ।

“औषधि र दाना निकै महँगो छ । उत्पादित वस्तुको बजार व्यवस्थापनमा राज्यले ध्यान दिन सकेको छैन । उत्पादनको मूल्यसमेत तोकिदिएको छैन”, उहाँले भन्नुभयो, “त्यही अण्डा कहिले क्रेटको एक हजार ४०० देखि एक हजार ५०० मा नै पाउँछ, कहिले दुई हजार ६ सयदेखि दुई हजार ७ सयसम्म पर्छ । खर्च अनुसारको मूल्य निर्धारण गरिदियो भने व्यवसाय र उपभोक्ता बीचमा सन्तुलन हुनेथ्यो ।”

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेरले सामूहिक रुपमा खेती र व्यवसाय गर्ने किसानका लागि बैंक तथा वित्तीय संस्था र उद्योगीहरुसँग सामूहिक छलफल गरी परेको समस्याको समाधानका लागि सहजीकरण गरिरहेको बताउनुभयो । रासस