गगन थापाको प्रधानमन्त्री ओलीलाई कडा चेतावनी : पौडेलको गिरफ्तारी तपाईका लागि निकै महँगो पर्नेछ

गगन थापाको प्रधानमन्त्री ओलीलाई कडा चेतावनी : पौडेलको गिरफ्तारी तपाईका लागि निकै महँगो पर्नेछ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली काँग्रेसका युवा नेता गगन थापाले आफ्नो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँको दमौलीमा भएको दुर्व्यवहार र गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीका लागि निकै महंगो पर्ने चेतनावनी दिएका छन् ।

‘नेपाली कांग्रेसका वरिष्ठ नेता  रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन,होइन। यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो। यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ। – नेता थापाले ट्वीटरमा लेखेका छन ।

उनले प्रधानमन्त्रीलाई वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तारी गर्नु निक्कै महँगो पर्ने बताएका छन ।

तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न १२ बजेदेखि निषेधाज्ञा जारी रहेका बेला काङ्ग्रेस कार्यकर्ताको टोली निषेधाज्ञा तोड्दै अगाडि बढ्न खोजेपछि झडप भएको हो ।

बुल्दी खोलामा निर्माण सम्पन्न भएको पुलको उद्घाटनका लागि काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायत काङ्ग्रेस कार्यकर्ताको टोली अगाडि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । प्रहरीले काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई उक्त ठाउँबाट सुरक्षित रुपमा प्रहरी कार्यालयभित्र ल्याएर राखेको छ ।

पूर्वाधार निर्माण कार्यालयमार्फत सम्पन्न भएको पुलको उपभोक्ता समितिले उद्घाटनको कार्यक्रम राखेपछि त्यसको विरोध गर्दै आजै बिहान राष्ट्रिय युवा सङ्घले विरोधको कार्यक्रम गरेको थियो । लगत्तै झडप हुन सक्ने स्थितिलाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो ।

निषेधाज्ञा तोड्दै नेता पौडेल पुल उद्घाटनमा जान खोजेपछि नियन्त्रणमा लिएको तनहुँ प्रहरीले जनाएको छ । निषेधाज्ञा जारी गरेपछि प्रहरी र युवा नेताहरुबीच केही बेर झडप भएको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

विकासका काममा काङ्ग्रेस सधैँ जनताका साथमा छ : वरिष्ठ नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहँुको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको आज शिलान्यास गर्नुभएको छ । तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा काङ्ग्रेस सँधै जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिनुभयो । नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताउनुभयो । काङ्ग्रेस तनहँुका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताउनुभयो ।

करीब रु दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले रु ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिनुभयो । एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

ओली सरकारले अधिनायकवादी चरित्र देखायो : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई पक्राउ गरी ओली सरकारले आफ्नो अधिनायकवादी अभिष्टको प्रदर्शन गरेको बताएका छन् । तनहुँको व्यास नगरपालिकामा दुई वडा जोड्ने पुलको उद्घाटन गर्न पुगेका पौडेललाई बुधबार तनहुँ प्रहरीले निषेधाज्ञा उल्लंघन गरेको भन्दै पक्राउ गरेको हो ।

‘जिल्लामा मेरो पहलमा भएको विकास निर्माणको काम सम्पन्न भएपछि नगरपालिका र उपभोक्ता समितिले निमन्त्रणा गरेकाले म आएको हुँ । तर, सरकारले स्थानीय सरकारको कार्यक्रमलाई सुरक्षा दिनुको साटो अवरोध गर्न खोज्यो,’ पौडेलले कान्तिपुरसँगको संक्षिप्त टेलिफोन कुराकानीमा भने । उनले आफूलाई जनतामाझ पुग्न नदिन सरकारले निषेधाज्ञा लगाएको भन्दै यसले लोकतन्त्रको मर्ममा प्रहार भएको बताए ।

‘यसबाट ओली सरकार लोकतन्त्रप्रति प्रतिबद्ध छैन भने देखिएको छ । राजनीतिक गतिविधिलाई निषेध गर्न खोज्नुले अन्तत: लोकतन्त्रलाई नै आघात पुर्‍याउँछ । सरकारको यो कृत्यको विरोध हुनु आवश्यक छ,’ उनले भने ।