आन्तरिक विवादका विषयमा छलफल गर्न आज बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक यही मङ्सिर २८ गतेसम्मका लागि स्थगन भएको छ । स्थायी कमिटीको बैठकका कारण पूर्व निर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सो पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा शुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली उपस्थित नभई पार्टीलाई विभाजनको डिलमा पु¥याउने तयारीसहित बैठक राखिएकाले आफू बैठकमा सहभागी नभएको लिखितपत्र पठाउनुभएको थियो । बैठकमा अध्यक्ष ओलीको पत्रका सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गर्नुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । शीर्ष नेताहरुबीच अनौपचारिक छलफल गरेर सहमति खोज्ने प्रयास पनि जारी रहेको जनाइएको छ ।
शनिबारको सचिवालय बैठकले पार्टी भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लाने निर्णय गरेको थियो । यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित प्रस्ताव पत्रका सम्बन्धमा शीर्ष नेताहरुबीच विवाद हुँदै आएको छ ।रासस
प्रतिक्रिया