कोरोना भएको पुष्टि भएमा समाजले गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण लक्षण देखिए पनि कोरोना परीक्षणमा आनाकानी

कोरोना भएको पुष्टि भएमा समाजले गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण लक्षण देखिए पनि कोरोना परीक्षणमा आनाकानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सिद्धराज भट्ट

धनगढीको व्यापारिक फर्ममा काम गर्दै आउनुभएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बस्नुभयो । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उहाँले परीक्षण गराउन मान्नु भएन ।

घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गर्नुभयो । घरको बसाइमा उहाँ १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किनुभयो । रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मान्नु भएन । उहाँले भन्नुभयोे, “नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिएन ।”

कोरोनाको सङ्क्रमण भए÷नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उहाँले बताउनुभयो । घरमै अलग्गै बस्नुभएका उहाँ दुई हप्तापछि निको भई काममा फर्किनुभयो ।

उहाँहरु जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन् । कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिनु भएको बताइन्छ । यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन् ।

लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन् । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालमा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना सङ्कलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ ।

पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ । मङ्सिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शङ्कास्पद दुई हजार ३०६ जनाको नमूना सङ्कलन हुन सकेको छ । सो अवधिमा सक्रिय सङ्क्रमित ३३० जना थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा सङ्क्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ ।

सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुहुन्छ । “जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताउनुभयो । “हरेक पालिकामा व्यवस्था गरिएको सङ्कलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ”, जोशीले भन्नुभयो, “नमूना नदिनेलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ ।”

लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँवाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई, डोटी र बैतडीमा एक÷एकजना छन् । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष (आइसियु)मा र दुईजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ । तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक÷एक पिसिआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ । रासस