अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपालका लागि कोरियाका राजदूत पार्क योङसिकले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । अर्थमन्त्री पौडेलले कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोईका)मार्फत कोरियाले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको क्षेत्रमा पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
नेपाल र कोरियाबीच व्यापार, लगानी र रोजगारीको क्षेत्रमा समेत आपसी सहकार्य बढ्दै गएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले ‘इपिएस’ मार्फत नेपाली रोजगारीका लागि कोरियामा जाने र त्यहाँ सिकेको सीप नेपालमा प्रयोग गर्दा देशलाई फाइदा पुगेको बताउनुभयो ।
उहाँले कोभिड– १९ विरुद्ध नेपालले गरेको प्रयासमा कोरिया सरकारको सहयोग र सहकार्यका लागि धन्यवाद दिनुभयो । अर्थमन्त्री पौडेलले नेपालमा पर्यटक, व्यापारी तथा लगानीकर्ताका रुपमा कोरियन जनताको उपस्थिति बढाउन थप सहयोगका लागि आग्रह गर्नुभयो ।
उहाँले कोरिया सरकारको सहयोगमा नेपालमा सञ्चालित आयोजनाका लागि मन्त्रालयको सहयोग साथ र समर्थन रहने बताउनुभयो । राजदूत योङसिकले कोरियन सरकारले नेपालको विभिन्न क्षेत्रमा गरेको सहयोगका बारेमा जानकारी गराउँदै प्राविधिक तथा व्यावसायिक शिक्षाको क्षेत्रमा सहयोग बिस्तार गर्ने जानकारी गराउनुभयो ।
उहाँले कोरियाको निजी क्षेत्रबाट थप लगानी बढाउन समन्वय गर्ने बताउनुभयो । साथै इपिएसमार्फत नेपाली रोजगारीका लागि कोरियामा कार्यरत जनशक्ति तथा त्यहाँबाट फर्केर आएका जनशक्तिलाई उद्यमशीलता प्रदान गरी व्यावसायिक बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो । राजदूत योङसिकले कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारमा कोरियन सरकारको सक्रिय योगदान हुने बताउनुभएको थियो । रासस
प्रतिक्रिया