चुलिबोझाको आयआर्जन गर्ने आधार बन्दै ‘घरबास’

चुलिबोझाको आयआर्जन गर्ने आधार बन्दै ‘घरबास’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चारैतिर पहाडले घेरिएको पहाडको काखमा चुलिबोझा गाउँघरका छानाको रङ पनि एकै प्रकारको छ । जिल्लाको सबै भन्दा अग्लो पहाड देवचुली चुलिबोझा गाउँको शिर बनेको छ । चुलिबोझा मगर समुदायको बस्ती हो ।

यस गाउँको आम्दानीको बाटो खासै केही छैन् । अम्रिसो, अदुवा सामान्य हुने भए पनि फाँटयुक्त जमिन नहँुदा अन्य कृषिको सम्भावना त्यति छैन् । केही समयअघि स्थापना गरिएको घरबासले भने यहाँ समुदायमा केही आशा पलाएको छ । घरबासमा आएका पाहुनाका कारण केही आम्दानी हुन थालेपछि आर्थिक अवस्था सुध्रिने विश्वास चुलिबोझाका स्थानीयवासीलाई लागेको छ ।

कोरोना कहरको समयमै आन्तरिक पर्यटकको आगमनमा समेत वृिद्ध हुन थालेपछि मगर घरबासका सञ्चालक निकै खुशी भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको बुलिङटार गाउँपालिका चार चुलिबोझामा गतवर्ष मात्रै स्थापना भएको देवचुली मगर घरबासमा अहिले आन्तरिक पर्यटकको आगमन बढेको छ । जिल्लाको पहाडी क्षेत्रमा सञ्चालनमा ल्याइएको सो घरबास स्थापना भएपछिका केही महिनामै कोभिड –१९ को महामारी शुरु भएकाले राम्रोसँग चल्न सकेन ।

छिटफुट रुपमा केही पाहुना पुगे तर, दशैँतिहारको समय र त्यसपछि अहिले यहाँ जिल्लाभित्र र नजिकका छिमकी जिल्लाबाट पनि आन्तरिक पर्यटक बास बस्न र रमाइलो गर्न आउने गरेका घरबास सञ्चालक नैनामाया मगरले बताउनुभयो । “क्रमश पाहुना आउने क्रम बढदै गएको छ, यसले केही उत्साह जागेको छ”, नैनामायाले भन्नुभयो । जिल्लाकै अग्लो डाँडा देवचुली डाँडामा पदयात्रा गर्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै अहिले घरबासमा बस्ने पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको र आम्दानी पनि राम्रै भएको उहाँ बताउनुहुन्छ ।

देवचुलीडाँडा चढ्न आउने पर्यटक बिदाका दिन आठ दश जनाको समूह नै बनाएर छसात वटा समूहसम्म यहाँ बास बस्ने गरेका मगरले बताउनुभयो । अन्य समयमा पनि अहिले घरबासमा दैनिक आठ दशजना पर्यटक आउने गरेका उहाँ बताउनुहुन्छ ।

आफ्नै ठाउँमा उत्पादन भएको कोदो, मकै, फाँपरको ढिँडो, लोकल कुखुराको मासु, दाल, सिस्नो, अमिलो, सुन्तला, केरा, तरुल, पिँडालु, भटमास, गहतलगायतका गेडागुडीको परिकारको स्वाद लिनका लागि पनि घरबासमा पर्यटक आउने गरेका यममाया गाहाले बताउनुभयो । मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्न चर्चित कौडा र झाम्रे नाँच प्रस्तुत गर्ने गरेको गाहाले बताउनुभयो ।

चुलिबोझामा रहेको यस घरबासबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरि, माछापुच्छ्र्र«े र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाँडासमेत अवलोकन गर्न सकिन्छ । चुलिबोझा गाउँका १३ घरमा अहिले घरबास सञ्चालन गरिएको छ । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको घरबासका अध्यक्ष भविलाल गाहा मगरले बताउनुभयो । गण्डकी प्रदेश सरकारको अनुदानमा यहाँ घरबास सञ्चालन गरिएको हो ।

“यहाँ अन्य आम्दानीको माध्यम खासै थिएन, घरवास शुरु गरेपछि कमाइ पनि भएको छ”, अध्यक्ष गाहाले भन्नुभयो, “अहिले आम्दानीको केही प्रतिशत रकम समूहमा जम्मा गर्ने र घरबासलाई व्यवस्थित बनाउन खर्च गर्ने गरेका छौ ।” चुलिबोझामा सोलार र लघु जलविद्युत्मार्फत् बिजुली बालिएको छ । राष्ट्रिय प्रसारणलाइनसमेत विस्तार हुने क्रममा छ ।

उक्त बस्तीमा बाटो राम्रो नहुँदा पाहुनालाई आउजाउ गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । बाटोको स्तरोन्नति गर्नका लागि पालिकामा आफुहरुले बजेट माग गरिरहेको उहाँको भनाइ छ । घरबास सञ्चालन भएपछि गाउँमा पाहुनाको सुविधालाई पनि ख्याल गर्नुपर्छ भन्ने सोँचको विकास हुँदा गाउँको पनि विकास भएकामा आफुहरु खुशी भएको गाहामगर बताउनुहुन्छ । रासस