उपराष्ट्रपतिबाट नेपाल र बंगलादेशबीच वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा सहकार्य गर्न जोड

उपराष्ट्रपतिबाट नेपाल र बंगलादेशबीच वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा सहकार्य गर्न जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि बङ्गलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपति पुनले स्वतन्त्रतापछि बङ्गलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिनुहुँदै बङ्गलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएको स्मरण गर्नुभयो । उपराष्ट्रपतिले बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बङ्गलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्नुहुँदै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउनुहुँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वव्यापी कोरोना कोभिड–१९ बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउँँदै नेपाल विदेशी पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा बङ्गलादेशका राजदूत चौधरीले नेपाल बङ्गलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताउनुभयो । बङ्गलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले बङ्गलादेशका राष्ट्रपतिको भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनेको उल्लेख गर्नुहुँदै नेपाल आउनुअघि भएको भेटमा राष्ट्रपति हमिदले आफ्नो नेपाल भ्रमणको क्रममा पाएको न्यानो आतिथ्यता र स्वागत सत्कारका लागि नेपाली नेता र जनतालाई कृतज्ञता सुनाई दिनुभनेको बताउनुभयो ।

राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बङ्गलादेशले सहकार्य विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले आगामी साता बङ्गलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुने बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यका लागि बङ्गलादेशीका लागि नेपाल पहिलो रोजाइ भएको बताउनुभयो । “साहसिक पर्यटनका लागि बङ्गलादेशीहरुको पहिलो गन्तव्य नेपाल हो”, उहाँले भन्नुभयो ।

राजदूत चौधरीले बङ्गलादेश स्वच्छ ऊर्जाप्रति प्रतिबद्ध भएको उल्लेख गर्नुहुँदै सोका लागि नेपालको बिजुली किन्न चाहेको बताउनुभयो । “बङ्गलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ, किनकि यो स्वच्छ ऊर्जा हो”, उहाँले भन्नुभयो । राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपयुक्त समयमा बङ्गलादेशको भ्रमण गर्न आग्रह गर्नुहुँदै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । रासस