तमानखोलामा बाह्रै महिना यातायात चल्ने

तमानखोलामा बाह्रै महिना यातायात चल्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, ३ पुस । जिल्लाको तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानमा बर्खाका समयमा सवारी साधन ठप्प हुन्छन् । तर अब भने दुई खोलामा मोटरेबल पुल निर्माण थालिएसँगै तमानखोलामा बाह्रै महिना सवारी चल्नेछन् ।

बुर्तिवाङ–तमानखोला सडकमा दुई मोटरेबल पुल धमाधम निर्माण भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइले स्तरोन्नति गरेको बुर्तिवाङ तमानखोला सडकमा आवश्यक दुई पक्की पुल एकैसाथ सम्पन्न गर्नेगरी धमाधम निर्माण गरिरहेको छ । उक्त सडकको लुकरवन खोलामा धमाधम पुल निर्माण भइरहेको छ भने र भालुवाङ खोलामा हालै पुल निर्माण शुरु भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । अहिले बुर्तिवाङ–तमानखोला सडक ग्राभेल गरेसँगै बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्र पुग्न यात्रुलाई निकै सहज भएको छ ।

बुर्तिवाङबाट तमानखोला सम्मको ९.८ किलोमिटर सडक निर्माण गर्नका लागि २०७५ वैशाख १० गते कालिका प्यासिफिक जेभीसँग ठेक्का सम्झौता गरी रु १७ करोड नौ लाखमा सडक निर्माण सम्पन्न गरी हस्तान्तरणको चरणमा रहेसँगै उक्त खण्डमा पक्की पुल निर्माणले गति लिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख रेणुकाकुमारी पाण्डेयले जानकारी दिनुभयो ।

भूकम्पले क्षति पु¥याएका भौतिक संरचनाको पुनःनिर्माण गर्ने आयोजानाले यो सडकसँगै पुल निर्माण पनि गरिरहेको आयोजनाका इञ्जिनीयर हरिशचन्द्र बढुले जानकारी दिनुभयो । “सडक हस्तान्तरणको तयारीमा रहेका छौँ, उक्त सडक निर्माण सम्पन्न भएसँगै त्यस क्षेत्रमा पर्ने दुई स्थानमा मोटरेबल पुल निर्माण थालिएको छ”, उहाँले भन्नुभयो, “लुकुरबनको मोटरबल पुल ५० प्रतिशत सकिएको छ, त्यस्तै भालुवाङ खोलाको पुल निर्माण शुरु भएको छ ।”

इञ्जिनीयर बढुका अनुसार कोरोनाका कारण लुकुरबनको पुल निर्माणमा ढिलाइ भएको थियो । अहिले दुवै पुल धमाधम निर्माण भइरहेका छन् । रु तीन करोड ६६ लाखको लागतमा निर्माण भइरहेको लुकुरबन खोला पुल २०७८ वैशाखमा सक्नेगरी काम भइरहेको छ । मङ्सिर २०७६ बाट शुरु भएको उक्त पुल २५ मिटर लम्बाइ र ८.५ मिटर चौडाइको रहने पुल निर्माणको जिम्मा पाएको कर्ण÷प्रदीप÷जुम्ली जेभीले जनाएको छ ।

यस्तै नौ महिनामा सक्नेगरी २०७७ असोज १२ गते निर्माण शुरु भएको भालुवाङ खोला मोटरेबल पुल निर्माणले तीव्रता पाएको छ । रु चार करोड ४२ लाखमा नयाँ बाटो÷सूर्योदय÷बी एक जेभीले निर्माणको जिम्मा पाएको उक्त पुल ४० मिटर लम्बाइ र ८.५ मिटर चौडाइको रहेको छ । बागलुङ जिल्ला सदरमुकामपछिको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारबाट तमान क्षणभरमै पुग्न थालेपछि स्थानीयवासीलाई आवतजावत सहज भएको मात्रै छैन अब बर्खामा समेत यातायातका साधन सञ्चालनमा आउने भएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकामबाट ९२ किमी मध्यपहाडी पुष्पलाल लोकमार्ग र त्यसपछि १० किलोमिटर बुर्तिवाङबाट तमानखोला गाउँपालिकाको केन्द्रसम्म पुग्न सकिन्छ । पुल नहुँदा बर्खाको तीन महिना यातायातका साधन ठप्प हुँदै आएका छन् । ट्र्याक निर्माणपश्चात् बुर्तिवाङदेखि तमानखोलासम्म निकै सास्तीपूर्ण करीब दुई घण्टा लाग्ने सडकमा ग्राभेल सडक निर्माणसँगै २५ मिनेटमै सरर तमानखोलाको केन्द्र पुग्न सकिनेछ । रासस