स्थानीय उत्पादनले बजार नपाएको र तरकारी तथा फलफूल खेर गइरहेको अवस्थामा सहकारी बजारपछि नागरिकलाई सहज

स्थानीय उत्पादनले बजार नपाएको र तरकारी तथा फलफूल खेर गइरहेको अवस्थामा सहकारी बजारपछि नागरिकलाई सहज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

देउखुरी, ३ पुस । स्थानीय उत्पादनले बजार नपाएको र तरकारी तथा फलफूल खेर गइरहेको अवस्थामा दाङमा पहिलोपटक कृषि उपज सस्तोमा उपलब्ध गराउने सहकारी बजार सञ्चालनमा आएको छ । बिचौलियाका कारण किसानले बजारमा उचित मूल्य पाउन नसकेका, उपभोक्ताले चर्को मूल्यमा तरकारी तथा फलफूल किन्न बाध्य भएको समयमा सहकारी बजार सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी प्रदेश सरकारसँगको सहकार्यमा सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले घोराहीको मुख्य ठाउँ तुलसीपुरचोकमा सहकारी बजार सञ्चालनमा ल्याएपछि दाङका नागरिकलाई सामान खरीदबिक्रीमा सहज भएको छ । घोराही–६ का किसान मदन चौधरीले काउली, बन्दा, मूला, आलुलगायत तरकारी बेच्न घोराही बजारमा ग्राहक खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य भको छ । घर उत्पादन गरेका वस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलोपटक कृषि सहकारी बजारमा बिक्री गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

घोराही–१७ का शीवा चौधरीले सहकारी बजारमा तरकारीको उचित मूल्य पनि पाएको र समयको बचत भएको बताउनुभयो । तरकारी व्यापारीले सामान लगे पनि समयमा पैसा नदिने समस्या थियो । अहिले सहकारीमा सामान बिक्री गर्दा सजिलो र भरपर्दो भएको उहाँको भनाइ छ । सहकारी बजार सञ्चालनमा आएपछि तरकारी खेतबारीमै कुहिएर खेर जाने समस्या हटेको छ ।

घोराही–१५ की राधा लम्सालले सहकारी बजारमा सबै सामान एकै ठाउँमा पाउने भएकाले समयको बचत भएको बताउनुभयो । खाद्यान्न, तरकारी तथा फलफूल, दूध तथा दुग्धजन्य वस्तुहरु सहकारी बजारले अनलाइनबाट खरीद, होम डेलिभरीको व्यवस्था पनि गरेको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष धु्रवराज पौडेलले जानकारी दिनुभयो ।

शेयर सदस्यले वार्षिक कारोबारको अङ्कका आधारमा प्रतिफलसमेत पाउने व्यवस्था गरिएको भन्दै उहाँले यो बजार दाङको परिवेशमा फरक परियोजना भएको दाबी गर्नुभयो । सहकारी बजारमा विभिन्न महिला समूहले उत्पादन गरेका वस्तुहरु, उद्यमी समूहले उत्पादन गरेका वस्तुहरु खरीद गरी उपभोक्तालाई वितरण गरेको बताउनुभयो ।

रु एक करोड ४३ लाख ६८ हजार ४०० मा सञ्चालनमा ल्याइएको सहकारी बजारमा लुम्बिनी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रु ४९ लाख ४९ हजार ९०० अनुदान दिएको छ । संस्थाको रु ५३ लाख ६० हजार ८०० सामान खरीदमा र चालू पूँजीतर्फ रु ४० लाख ५५ हजार ६०० को लगानीमा दुई महिनाअघि बजार सञ्चालनमा आएको हो । रासस