सिडेनको अध्यक्षमा थापा र थानीको प्रतिस्पर्धा

सिडेनको अध्यक्षमा थापा र थानीको प्रतिस्पर्धा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । लोकतन्त्रवादी इञ्जिनीयरहरुको साझा संस्था (सिडेन) को निर्वाचनमा अध्यक्ष पदमा ध्रुव थापा र उमेशप्रसाद थानी आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन् । सिडेनको छैटाँै कार्यकारिणी समितिको शनिबार हुने निर्वाचनमा दुवै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन् ।

कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत देवराज निरौलाले जानकारी दिनुभयो । कार्यकारिणी समितिमा समेत प्रतिनिधित्व गर्ने सात प्रदेशका प्रमुखको भने यसअघि नै निर्वाचन भइसकेको छ । शनिबार बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म हुने निर्वाचनमा काठमाडौँमा तीन हजार ९६ र सात प्रदेशका विभिन्न स्थानमा ५२७ गरी देशभरका तीन हजार ६२३ प्रतिनिधिले मतदान गर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पदका प्रत्यासी थानीले आफू करियरको शुरुआतदेखि नै लोकतन्त्रप्रति समर्पित र सक्रिय रहंँदै आएको उल्लेख गर्दै युवा नेतृत्वका साथ निर्वाचनमा होमिएको बताउनुभयो । साथै उहाँले आफूले इञ्जिनीयरिङ शिक्षाको गुणस्तर वृद्धि, सिडेनमा आवश्यक सुधार तथा सङ्गठनात्मक सुदृढीकरण गर्ने, संस्थागत सुशासन तथा पारदर्शीता कायम गर्ने इञ्जिनीयरहरुको हकहितका लागि हरसम्भव प्रयत्न गर्ने, नयाँ प्रविधिको आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्नेलगायतका मुद्दा अघि सारेको जानकारी गराउनुभयो ।

यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी थापाले समस्त इञ्जिनीयरको हकहित तथा पेशागत विकासका लागि काम गर्ने चाहनाअनुरुप सबै कोणबाट समावेशी र सन्तुलित समूहका साथ निर्वाचनमा होमिएको बताउनुभयो । उहाँले युवा इञ्जिनीयरको व्यवस्थापन (तालीम, रोजगारी, जागीर बैंकको स्थापना आदि), सिडेनको संस्थागत विकास, इञ्जिनीयरिङ स्रोत केन्द्रको स्थापना नेपाल इञ्जिनीयरिङ एसोसिएसनको आगामीे चुनावमा लोकतान्त्रिक समूहको जितलगायतका मुद्दा अघि सार्नुभएको छ । रासस