जनतालाई रोजगारी नदिएसम्म समृद्धि आउन सक्दैन : मन्त्री नेपाल

जनतालाई रोजगारी नदिएसम्म समृद्धि आउन सक्दैन : मन्त्री नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ पुस । बागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले जनतालाई रोजगारी नदिएसम्म देशमा समृद्धि आउन नसक्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) बागमती प्रदेश महासङ्घको प्रथम परिषद्को आज उद्घाटन गर्नुहुँदै उहाँले बागमती प्रदेश सरकारले युवालाई उद्यमशीलतामा जोड्न रु तीन अर्बको कोष बनाएको जानकारी दिनुभयो । “सो कोषमार्फत उत्कृष्ट योजना बनाएर पेश गरिसकेपछि ४० वर्षमुनिका युवालाई तालीम दिएर रु १५ लाखसम्म सहुलीयत ऋण उपलब्ध गराउनेछौँ”, उहाँले भन्नुभयो ।

सो कार्यका लागि प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकसँग समन्वय गरिसकेको उहाँले बताउनुभयो । सो अवसरमा मन्त्रालयका सचिव सिन्धु ढुङ्गानाले सामुदायिक वनको ५० प्रतिशत महिला नेतृत्वको अभ्यास उदाहरणीय रहेको बताउनुभयो । नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले नेपालमा प्राकृतिक स्रोतको समुचित उपयोग हुन नसकेको बताउनुभयो । फेकोफन केन्द्रका अध्यक्ष भारती पाठकले सामुदायिक वनमा खेर गएका वन पैदावारको उपयोगबाट उद्यमशीलताको सिर्जना गरी युवालाई रोजगारीको अवसर प्रदान गर्नका लागि सरकारसँग समन्वय गर्न महासङ्घ तयार रहेको उहाँले बताउनुभयो । रासस