बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्नेे योजना अलपत्र

बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्नेे योजना अलपत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ४ पुस । बजेटले निरन्तरता नपाएपछि बेनीको खुल्ला मञ्च विस्तार र स्तरोन्नति गर्नेे योजना अलपत्र परेको छ ।

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको मैदानलाई विस्तार गर्न र प्यारापिट बनाउन विसं २०७४ मा रु नौ करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको थियो । जिल्ला खेलकूद विकास समिति र बेनी नगरपालिकाले ‘मिनी स्टेडियम’ बनाउन शुरु गरेको योजना चालु आर्थिक वर्षमा बजेटविहीन भएको छ । प्याराफिट बनाउन र मैदान विस्तार गर्न शुरु गरेका काम अधुरा छन् । म्याग्दी नदीको किनारतर्फको प्याराफिट भत्काइएको थियो । प्याराफिट भत्काएपछि खेलमैदानको बीचमा ढुङ्गा र माटो थुपारिएको छ ।

खेलमैदानको अभावमा बेनीमा केही समययता खेलकूद गतिविधि ठप्प भएको स्थानीय युवा सतिश श्रेष्ठले बताउनुभयो । फुटबल, क्रिकेट र एथलेटिक्स खेलको अभ्यास गर्ने र प्रतियोगिता सञ्चालन गर्ने एकमात्र मैदान खुल्ला मञ्च हो । जिल्लास्तरीय मेला, महोत्सव, सभा, समारोह, सांस्कृतिक कार्यक्रम र सम्मेलन यही हुने गर्छ ।

“लकडाउनमा शुरु भएको खेलमैदान विस्तारको काम अझै सकिएको छैन”, श्रेष्ठले भन्नुभयो, “शुरु गरिएको कामसमेत अधुरा र अलपत्र छन् ।” जनप्रतिनिधिको उपेक्षाका कारण बेनीमा मिनी स्टेडियम बनाउने योजना भाषणमै सीमित भएको खेलाडीको गुनासो छ । खेलमैदान झाडीमा परिणत भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षअघि जिसस म्याग्दीको सभाहल उद्घाटन गर्ने क्रममा बेनीको खुल्ला मञ्चलाई ‘मिनी स्टेडियम’ बनाउने घोषणा गर्नुभएको थियो । नगरपालिका, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले घोषणा दोहोराउँदै आएका छन् ।

बजेटले निरन्तरता नपाएपछि शुरु गरेका काम पनि अधुरा र खेलमैदान अस्तव्यस्त भएको बेनीका एकेन्द्र रावलले बताउनुभयो । “खुल्ला मञ्च म्याग्दीको गहना हो”, राप्रपाका केन्द्रीय सदस्यसमेत रहेका रावलले भन्नुभयो, “जनप्रतिनिधिको बेवास्ता र उपेक्षाका कारण बजेट व्यवस्थापन नहुँदा खुल्ला मञ्च भद्रगोल बनेको हो ।”

त्रिकोण आकारको मैदान हाल ८० मिटर लामो र ३८ मिटर चाक्लो छ । कालीगण्डकी र म्याग्दी नदीको किनारतर्फ पक्की पर्खाल उठाएर लम्बाइलाई ९६ मिटर र चौडाइलाई ४५ मिटरको बनाउन लागिएको हो । दायाँ र बायाँ ९०÷९० मिटर लामा सात हजार जना क्षमताको दुई प्यारापिट बनाउन शुरु गरेको थियो । दर्शक बस्ने चार तहको प्यारापिट बनाउने योजना छ ।

हाल नौ÷नौ जनाको फुटबल खेलाइने खेलमैदान विस्तार गरेपछि ११÷११ जनाको टिम खेलाउन सकिन्छ । प्यारापिटको बाहिरी भागमा अग्लो तारजाली लगाएपछि बल खोलामा पुग्ने समस्या हट्नेछ । हाल फुटबल खेल्दा खेलाडीले फालेको बल खोलामा पुगेर हैरान हुन्छ ।

विसं २०५१ मा तत्कालीन सांसद निल पुनले सांसद विकास कोषबाट रु एक लाख बजेट विनियोजन गरेर खुल्ला मञ्चलाई व्यवस्थित बनाउन शुरु गरिएको थियो । युवा तथा खेलकूद मन्त्रालयले विसं २०७१ मा रु छ लाख पचास हजार र २०७३ मा रु ५९ लाख ६७ हजार विनियोजन गरेको थियो ।

विसं २०७४ मा रु एक करोड र २०७५÷०७६ मा रु ६० लाख विनियोजन भएको थियो । गत आर्थिक वर्ष २०७६÷०७७ मा बेनी नगरपालिकाले रु नौ लाख, अर्थ मन्त्रालयले रु ५० लाख, खेलकूद मन्त्रालयले रु ५० लाख र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमबाट रु ५० लाख विनियोजन भएको थियो ।

म्याग्दी नदीको किनारतर्फ १०५ मिटर लामो र पाँच मिटर अग्लो पर्खाल बनाउने काम करिब आधा सकिएको छ । करिब १५ मिटर प्याराफिट बनाइएको छ । कालीगण्डकी किनारतर्फ करिब ५० मिटर लामो प्याराफिट बनाउन पिल्लर ठडाइएको छ । बेनी नगर कार्यपालिकाको भौतिक पूर्वाधार समितिका संयोजक कृष्णकुमार विश्वकर्माले कोरोनाका कारण नगरसभाबाट खेलमैदानलाई बजेट विनियोजन गर्न नसकिएको बताउनुभयो ।

“कोरोना कोषमा बजेट छुट्टाउँदा खुल्ला मञ्चलगायतका केही क्रमागत योजना प्रभावित भएका छन्”, खेलकूद विकास समिति म्याग्दीका निवर्तमान अध्यक्षसमेत रहेका विश्वकर्माले भन्नुभयो, “बाँडफाँट गर्न बाँकी बजेटका अलावा सङ्घीय र प्रदेशबाट खेलमैदानलाई बजेट व्यवस्थापन गर्न पहल गरेका छौँ ।” रासस