कोरोना कहर : सुन्तलाको बजारीकरण गर्न समस्या

कोरोना कहर : सुन्तलाको बजारीकरण गर्न समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण डोटी र कैलालीका चुरे पहाडी क्षेत्रमा फलेका सुन्तलालगायतका फलफूलको सहज रुपमा बजारीकरण गर्न नपाउँदा किसान चिन्तित बनेका छन् ।

किसानका खेतबारीमा यतिबेला सुन्तला, मौसम, जुनार, कागती लटरम्म फलेका छन् । कोरोना भाइरसको जोखिमका कारण उत्पादन भएको फलफूल अपेक्षाअनुसार बजारीकरण नभएको भन्दै किसान चिन्तित देखिएका हुन् । यहाँका किसानको मुख्य आम्दानीको रुपमा सुन्तला, जुनार, कागतीखेती रहेको छ ।

कतिपय किसानले फलाएका सुन्तला, कागतीलगायतका फलफूल बजारसम्म लैजान नपाउँदा बोटमै कुहिएर जान थालेको गुनासो डोटीको बडिकेदार गाउँपालिका–१ का रोजबहादुर कलेलले बताउनुभयो । “प्रसस्त फलेका सुन्तला, जुनार, कागती कोरोनाको जोखिमले गर्दा बजारसम्म लैजाने अवस्था नहुँदा बारीमै सुक्न र कुहिन थालेका छन्”, उहाँले भन्नुभयो, “यसपालीको मेहनत खेर जाने भयो ।”

कोरोनाको सन्त्रासले सहज रुपमा बजारीकरण हुन नसक्दा चिन्तित बनेका किसानले फलेका सुन्तलालगायतका कृषि उपजले स्थानीय गाउँ ठाउँमा मूल्य पनि पाउन नसकेपछि थप निराश भएका छन् । मुख्य नगदेबालीका रुपमा रहेको सुन्तला, कागतीलगायतका कृषि उपज समयमै बजारमा पु¥याउन र बिक्रीवितरणका लागि पहल गरिदिन किसानले स्थानीय तथा प्रदेश सरकारसँग आग्रह गरेका छन् ।

उत्पादित कृषि उपजले बजार नपाउँदा व्यावसायिक कृषि खेतीबाटै जीविकोपार्जन गर्ने उद्देश्य लिएर खेती गरिरहेका किसानको मनोबल घट्दैे गएको जोरायल गाउँपालिका–६ का सुन्तला उत्पादक किसान शेरबहादुर बोहरा बताउनुहुन्छ । उत्पादनस्थलसम्म पुग्ने सडकको सुविधाका साथै कृषि उपज सङ्कलन केन्द्रको अभावका कारण पनि किसानले उत्पादन गरेका वस्तुको सहजरुपम बजारीकरण गर्न समस्या सिर्जना भइरहेको बताइएको छ ।

यति बेला कोरोनाको जोखिम हुन सक्ने भन्दै अधिकांश ठाउँमा एक गाउँबाट अर्को गाउँसम्म आवागमन गर्न बन्द गरिएका कारणले पनि उत्पादित सुन्तलालगायतका कृषि उपज बजारसम्म पु¥याउन नपाइएको केआइसिंह गाउँपालिका–५ का श्याम जोशी बताउनुहुन्छ ।

डोटीमा बडिकेदार, जोरायल, केआइसिंह तथा बोगटान फुड्सिल गाउँपालिका सुन्तला, कागती, अमिलो, गहत, मास तथा भटमास उत्पादन हुने क्षेत्रका रुपमा चिनिँदै आएका छन् । उत्पादन क्षेत्र नजिक सङ्कलन केन्द्र, बजार, यातायात तथा बजारीकरणको अभावले किसानले उत्पादन गरेका मौसमी तथा बेमौसमी फलफूल तथा तरकारी खेर जाने अवस्थामा पुग्न थालेका कारण उत्पादित बस्तुको बजारीकरणका लागि पहल गर्न किसानले माग गरेका छन् ।

कृषि उपज सङ्कलन केन्द्रको अभाव र बजारीकणको समस्याका कारण उत्पादन हुने सुन्तला, कागती, जुनारका अलावा, अदुवा, बेसार, लसुन, अमिलो, भटमासलगायतका कृषि उपजले उचित मूल्य नपाउने समस्या रहेको किसानकोे भनाइ छ । डोटीमा मात्रै वार्षिक रु एक करोड मूल्य बराबर सुन्तला, मौसमी र कागती बिक्री वितरण हुने गरेको अनुमान गरिन्छ ।

सुन्तला कागतीलगायतका कृषि उपजको बजारीकरण गर्न तथा उत्पादन हुने ठाउँमा नै सङ्कलन केन्द्रको व्यवस्थापनका लागि पहल भइरहेको कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । “उत्पादित क्षेत्रमा कृषि उपज सङ्कलन केन्द्रका लागि विषेश पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादित बस्तु कुहिर खेर जान दिदैनौँ ।”

निगालीको सुन्तला कैलालीको पहिचान

डोटीको दक्षिणी सीमासँग जोडिको कैलालीको चुरे पहाडको निकाली क्षेत्रले स्वादिलो सुन्तलाका लागि छुट्टै पहिचान बनाएको छ । खानमा निकै स्वादिलो हुने विशेषताका कारण निगालीको सुन्तलाले कैलालीको पहिचान बनाएको हो । तराईका शहर बाजारका उपभोक्ताका लागि निगालीको सुन्तला पहिलो रोजाइमा पर्ने गरेको छ ।

निगालीमा उत्पादन हुने सुन्तला निकै स्वादिलो हुने भएकोले यसले कैलालीको पहिचान बनाएको स्थानीय प्रेम आचार्य बताउनुहुन्छ । सुन्तलाका बगैँचामा वर्षेनी सुन्तला थोकमा खरिद गर्ने व्यापारी पुग्ने गरेका भए पनि यस वर्ष कोरोनाको जोखिमका कारण व्यापारीको चहलपहल बढ्न नसकेको बताइएको छ ।

एउटै रुखमा पाँच क्वीन्टलसम्म सुन्तला फल्ने गरेको निगाली क्षेत्रमा मात्रै वार्षिक १०० टन भन्दा बढी सुन्तला उत्पादन हुने गरेको स्थानीय किसानको भनाइ छ । समयमै वर्षा नभएको वर्ष सुन्तलाको बोटका हाँगा पहेँलो भई सुक्ने र दानामा दाग लाग्ने रोगको समस्या पनि बेलाबखत देखिने गरेको छ ।

कैलालीको चुरे गाउँपालिकाको निगालीसहित आसपासका सहजपुर र खैराला क्षेत्रलाई सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छ । कृषि ज्ञान केन्द्रले स्थानीय किसानलाई विभिन्न प्राविधिक लगायतको सहयोग पु¥याउँदै आएको छ । व्यापारी तथा उपभोक्ता माझ निगालीको सुन्तलाको माग बढ्दै गएसँगै सो क्षेत्रमा वर्षेनी सुन्तलाखेतीको विस्तार पनि हुन थालेको छ ।

अहिले निगालीमा मात्रै व्यावसायिक रुपमा सुन्तलाखेती गर्ने किसान २०० भन्दा बढी पुगेका छन् । आफ्नो खेतमा ५३२ बोट सुन्तला रोप्नु भएका किसान आचार्यले भन्नुभयो, “एक किसानले वर्षमा सुन्तला बिक्रीबाट मात्रै कम्तीमा रु ५० हजारदेखि बढीमा रु छ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।”

उत्पादन क्षेत्रमा थोकमा प्रति क्वीन्टल रु पाँच हजारदेखि रु छ हजारमा खरिद बिक्री हुने सुन्तला धनगढी, अत्तरियालगायतका बजार क्षेत्रमा व्यापारीले प्रतिकिलो रु ११० देखि रु १२० मा बिक्री गर्ने गरेका छन् । अन्यत्रबाट ल्याइएको उन्नत जातको सुन्तला भन्दा स्थानीय जातको सुन्तला स्वदिलो एवं मिठो हुने हुँदा स्थानीय किसान आफै स्थानीय जातको सुन्तलाको बीउ तयार गरेर बोट रोप्ने गरेका बताइन्छ । रासस