युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घहरुको वर्गीकरण गरिने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आयोजनामा आज भएको राष्ट्रिय सङ्घहरुको अन्तरक्रियामा मन्त्री विश्वकर्माले नयाँ खेलकूद ऐनले खेल वर्गीकरणको व्यवस्था गरेको भन्दै नेपाली खेलकूदको विकासका लागि आवश्यकताअनुसार खेल सङ्घहरु वर्गीकरण गरिने बताउनुभयो ।
कार्यक्रममा युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले नयाँ ऐनका बारेका जानकारी गराउनुभएको थियो । राखेपका उपाध्यक्ष शिव कोइरालाले एउटै व्यक्ति एकभन्दा बढी सङ्घमा रहेको पाइएकाले अब सो प्रथाको अन्त्य हुने बताउनुभयो । सङ्घ विवाद समाधान समितिका संयोजकसमेत रहनुभएका कोइरालाले कतिपय सङ्घको क्रियाकलापका कारण खेलकूद क्षेत्र बदनाम हुँदै गएको उल्लेख गर्नुभयो ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले कोरोना महामारीका कारण ठप्प खेलकूद गतिविधि विस्तारै सामान्य अवस्थामा आउँदै गरेको बताउनुभयो । सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी परिषद्ले पुस महिनाभर सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने योजना रहेको उहाँको भनाइ थियोे । कार्यक्रममा झण्डै ८० सङ्घका प्रतिनिधिको सहभागिता रहेको थियो ।
प्रतिक्रिया