रासस समाचार प्रभाव : मजदुरलाई ‘ब्ल्याङ्केट’ प्रदान

रासस समाचार प्रभाव : मजदुरलाई ‘ब्ल्याङ्केट’ प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, ७ पुस । पर्यटकीय लेक घुम्टे जोड्ने पदमार्ग निर्माणमा खटिएका मजदुरलाई प्रवासीको सहयोगमा ‘ब्ल्याङ्केट’ प्रदान गरिएको छ । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा रहनुभएका दिनेश, दुर्गा र कृष्ण थापाले रु २१ हजार बराबरका १० वटा ‘ब्ल्याङ्केट’ सहयोग गर्नुभएको हो ।

राष्ट्रिय समाचार समिति (रासस)ले गत बिहीबार ‘पदमार्ग बनाउन वनको बास’ शीर्षकमा समाचार दिएपछि सो सहयोग जुटेको हो । सो समाचारबाट प्रभावित भएर थापात्रयले ‘ब्ल्याङ्केट’ खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिनुभयो ।

“म आफैँले लगेर ब्ल्याङ्केट वितरण गरेँ, जाडोमा न्यानो ब्ल्याङ्केट पाउँदा मजदुर खुसी भए”, थापाले भन्नुभयो । जाडोको समेत पर्वाह नगरी जङ्गलमै बास बसेर पदमार्ग निर्माणमा जुटेका मजदुरको दुःखमा सारथी बनेकामा सहयोगीप्रति उहाँले आभार व्यक्त गर्नुभयो । “सहयोग सानो÷ठूलो जे भए पनि सद्भाव मुख्य कुरा हो”, अध्यक्ष थापाले भन्नुभयो । एउटा ‘ब्ल्याङ्केट’को मूल्य रु दुई हजार १०० परेको उहाँको भनाइ छ ।

पदमार्ग निर्माणमा बडिगाड गाउँपालिका, फोर्साका १० जना मजदुर खटिएका छन् । पदमार्ग निर्माणस्थल गाउँदेखि डेढ÷दुई घण्टाको दूरीमा रहेकाले मजदुरले जङ्गलमै काठ, स्याउला र खरको टहरो बनाएर बसेका छन् ।

दैनिक आउजाउ गर्न गाह्रो हुने र समय पनि खेर जाने देखिएपछि मजदुरले उतै बसेर काम गरिरहेको अध्यक्ष थापाको भनाइ छ । जटिल भूबनोटमा जोखिम मोलेरै भए पनि पदमार्ग निर्माणलाई गति दिइएको छ । तीन वर्षअघि निर्माण थालिएको मल्मको भीमसेन ढुङ्गादेखि घुम्टे जोड्ने पदमार्गको दोस्रो खण्डमा अहिले काम भइरहेको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु १० लाख बजेटबाट ठुलासम्मदेखि गल्लाको घाँटीसम्म एक किलोमिटर पदमार्ग बन्ने छ । यस्तै १०० मिटरमा ‘रेलिङ’ राखिने छ ।

दुई खण्डमा बाँडिएको भीमसेन ढुङ्गा–घुम्टे पदमार्गको दूरी झण्डै १० किलोमिटर छ । पहिलो भीमसेन ढुङ्गादेखि राम्चेढुङ्गासम्म छ । राम्चेढुङ्गादेखि तुलसी मैरो हुँदै घुम्टेसम्म दोस्रो खण्ड पर्छ । पहिलो वर्ष दुवै खण्डमा रु १०÷१० लाख बराबरको काम भएको थियो ।

गत आवमा भने दोस्रो खण्डलाई मात्र बजेट आयो । यो वर्ष पनि सोही खण्डमा मात्र काम अघि बढेको छ । पहिलो खण्डमा भने आँगाखेतदेखि तल्लो सिरबारेसम्म जम्मा ५०० मिटर पदमार्ग निर्माण भएको छ । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । रासस