– रामबहादुर थापा
“बन्दाबन्दीले नयाँ सोच दियो, नत्र काठमाडौँतिरै रुमलिएर बसिन्थ्यो”, २८ वर्षीय राम खत्रीले भन्नुभयो, “कोरोनापछिको समयलाई गाउँमा सदुपयोग गरेँ, उत्पादनमा जोडिने योजना बनाएँ ।” कोरोनाअघि खत्रीको अधिक बसाइँ काठमाडौँमा हुन्थ्यो ।
व्यवसायका नाममा खत्रीको एउटा स्करपियो जीप थियो । जीपको कमाइले किस्ता तिर्न र खर्च धान्न ठिक्क हुन्थ्यो । जेनतेन यातायात व्यवसायमा टिक्नुभएका खत्रीमाथि कोरोना महामारीले बज्र थप्यो । मुलुकभर बन्दाबन्दी भयो । जनजीवन ठप्प भयो ।
स्करपियो थन्कियो, खत्री भने काठमाडौँ छाडेर घर फर्कनुभयो । बन्दाबन्दीका फुर्सदिला दिन यसै खेरफाल्न उहाँको मनले मानेन । बिना इलम गाउँमा बस्दा छिमेकीले कुरा काट्ने उस्तै डर । घरमै बस्दाबस्दा खत्रीको मनमा भिन्नै सोच फु¥यो । अब काठमाडौँ नफर्कने, गाउँमै केही गर्ने ।
गलकोट नगरपालिका–७ मल्मका खत्रीको राम्चेढुङ्गामा बाँझो पल्टिँएको आफ्नै जग्गामा ध्यान गयो । उहाँले वर्षौँदेखि निर्जन बनेको ठाउँलाई व्यावसायिक थलोका रुपमा परिणत गर्ने अठोट लिनुभयो । कोरानाले निम्त्याएको विषम स्थितिमा खत्रीले गाउँमै उद्यमी बन्ने सपना देख्नुभयो । उहाँ चुपचाप त्यही लक्ष्यतिर डोरिनुभयो । कोरोनाको जोखिमबाट बच्न घर आउनुभएका खत्रीको परिचय अहिले ‘राम्चेढुङ्गा पशुपक्षी उत्पादन तथा बिक्री केन्द्र’को सञ्चालकका रुपमा फेरिएको छ । “भैँसीका पाडापाडी र कुखुरापालन शुरु भइसकेको छ, पछि बाख्रा पनि राख्ने सोचमा छु”, उहाँले भन्नुभयो ।
फार्मका लागि संरचना बनाउन मात्र रु पाँच लाख खर्च भइसकेको छ । यस्तै पाडापाडी र कुखुराका चल्ला खरिदमा झण्डै रु १५ लाखको लगानी हुने खत्रीले बताउनुभयो । ५० देखि सयसम्म पाडापाडी र एक हजार स्थानीय जातका कुखुरापालन गर्न सकिने गरी संरचना तयार पारिएको छ । “दश वटा मुर्रा जातका पाडापाडी चितवनबाट ल्याइसकेँ, थप २७ वटा आउँदैछन्, स्थानीय भैँसीका पाडापाडी पनि राख्दैछु”, उहाँले थप्नुभयो । पाडापाडी हुर्काएर भैँसीपालक किसानलाई बेच्ने लक्ष्यका साथ फार्म खोलेको उहाँको भनाइ छ । गाउँमा भैँसी ब्याउदा पाडापाडी नपाल्ने प्रवृत्ति छ । फार्म खुलेपछि खेर फालिने पाडापाडी पनि हुर्काएर व्यावसायिक रुपमा बेचबिखन हुने वातावरण बन्ने छ । “आफ्नै ठाउँमा आत्मनिर्भर हुन सकिन्छ”, उहाँले भन्नुभयो, “अरुलाई पनि रोजगारी दिने उद्देश्यले फार्ममा लगानी गरेँ ।”
फार्ममा दुई जना बाहिरी व्यक्तिले काम पाएका छन् । खत्रीलाई व्यवसायमा घरपरिवारको पनि उत्तिकै साथ छ । कोरोना नहुँदो र बन्दाबन्दीमा घर फर्कन नपरेका भए आफूमा यस्तो उद्यमशीलताको सोच सायदै आउने खत्रीले बताउनुभयो । लोकगीत सिर्जनामा पनि दख्खल राख्ने खत्रीका ‘यानीमाया’, ‘सागर तरेर’, ‘मैना चरी’लाईलगायत गीत चर्चित छन् । अविवाहित खत्रीले तत्काललाई अरुथोक नसोचेर व्यवसाय प्रवद्र्धनमा आफू केन्द्रित रहेको बताउनुभयो ।
खत्रीकै घरदेखि केही तल अर्को एउटा कृषि फार्म निर्माणाधीन छ । २३ वर्ष थाइल्याण्डमा विताएर नेपाल फर्कनुभएका बाबुराम थापा केही वर्षयता काठमाडौँमा व्यवसाय गर्दै आउनुभएको थियो । उहाँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रेष्टुराँ थियो । थापाले साथीहरूसँग मिलेर खोलेको रेष्टुराँ कोरानाका कारण अचानक बन्द गर्नुप¥यो । एकातिर व्यवसाय बन्द अर्कातिर कोरोनाको त्रास । ५० वर्षीय थापा बन्दाबन्दीबीच जन्मघर फर्कनुभयो । “जुन देशमा गए पनि सपना गाउँकै देखिने रहेछ, म धेरै देश घुमेँ, जहाँ गए पनि प्यारो आफ्नै गाउँघर लाग्ने रहेछ”, थापाले भन्नुभयो । उहाँको परिवारका सबै सदस्य विदेशिएपछि गाउँको घरजग्गा पनि अर्कैले रेखदेख गर्थे, खेतीपाती लगाउँथे ।
आँगाको फाँटमा रहेको थापाको घरलाई कुनैताका ‘खेतको घर’समेत भनेर चिनिन्थ्यो । मर्मत अभावमा पछिल्लो समय घर जीर्ण थियो । उहाँ फर्केपछि घरगोठ हटाएर त्यसलाई फार्मका रुपमा विकास गर्ने योजना बनाउनुभयो । थापाको आफ्नै चार र भाडामा लिएको तीन गरी सात रोपनी जग्गामा अहिले फार्मको संरचना बनिरहेको छ । “स्थानीय जातको कुखुरापालन र तरकारीखेती मुख्य रुपमा रहने छ”, थापाले भन्नुभयो, “व्यवस्थित र आधुनिक खालको संरचना बन्छ, लगानी पनि ३० देखि ३५ लाखसम्म हुने मेरो अनुमान छ ।” पछि गएर पाडापाडी पाल्ने सोच उहाँको पनि छ । ‘थापा कृषि तथा पशुपक्षी फार्म’ दर्तासमेत भइसकेको छ ।
कुखुरापालनका लागि बनाइएको संरचनामा छानो राख्ने काम मात्र बाँकी छ । एक हजारदेखि १२ सयसम्म स्थानीय जातको कुखुरापालन गर्ने थापाको तयारी छ । “देशविदेशको अनुभव गरेको छु, अहिले आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने सोचले घर फर्किएँ, यतै रमाइलो छ, अब कतै जान्न”, उहाँले भन्नुभयो । छिमेकी र शुभेच्छुकलेसमेत छिपिँदै गरेको उमेरमा थापाले देखाएको आँट र उत्साहको प्रशंसा गर्छन् । थापाले गाउँ फर्केर केही न केही गर्ने पहिले देखिकै सोच कोरानाकालमा आएर साकार बनेको उल्लेख गर्नुभयो ।
कोरोना सङ्कटका बेला गाउँमै भविष्य खोज्नेमा खत्री र थापा मात्र हुनुहुन्न । शहरमा व्यवसाय र रोजगारी गुमेपछि घर फर्केर केही न केही व्यवसाय अँगाल्नेको सङ्ख्या बढ्दो छ । जैमिनी नगरपालिका–७ जैदी, बोरका कमल राना गत चैतअघिसम्म पोखरामा बस्नुहुन्थ्यो । त्यहाँ रहँदा उहाँ प्रदेशसभा सदस्य पियारी थापाको स्वकीय सचिवका रुपमा काम गर्नुहुन्थ्यो । एकाएक कोरोनाको सन्त्रास छायो । बन्दाबन्दी भयो । स्थिति असामान्य बनेपछि रानाले पनि पोखरा छाड्ने निर्णय लिनुभयो । उहाँ घर फर्कनुभयो । बन्दाबन्दीले दिन व्यर्थैमा बितेकामा उहाँलाई पछुतो हुन्थ्यो । घरमै बस्दाबस्दा रानाले पनि गाउँमै स्वरोजगार बन्ने उपायको खोजी गर्न थाल्नुभयो । ताकी फेरि कामकै लागि शहरतिर भौँतारिन नपरोस् ।
२५ वर्षीय रानाको लक्ष्यले पनि छिट्टै साकार रुप लियो । ‘जैदी माछापालन, कृषि तथा पशु फार्म’बाट उहाँको चिनारी अब उद्यमीका रुपमा बदलिँदै छ । “बन्दाबन्दीकैबीच स्वकीय सचिवको जिम्मेवारी छाडेँ र व्यवसायतिर लागेँ”, उहाँले भन्नुभयो । रानाले नगरपालिका र कर कार्यालयमासमेत फार्म दर्ता गरी सञ्चालनमा ल्याउनुभएको हो । फार्मका लागि वार्षिक रु ६० हजार भाडामा साढे पाँच रोपनी जग्गा लिई माछा र बङ्गुरपालन थालेको उहाँको भनाइ छ । दुई वटा पोखरीमा गत असारमा राखेका चार हजार ७०० माछाका भुरा अहिले हुर्किरहेका छन् । पोखरीमा कमन ग्राफ, नैनी र सिल्भर जातका माछा छन् ।
यस्तै ५० वटा बङ्गुर पाल्नका लागि संरचना तयार भइसकेको रानाले बताउनुभयो । उहाँसँग व्यावसायिक तरकारी खेतीको योजना पनि छ । फार्ममा हालसम्म रु सात लाख लगानी भएको छ । आधा आफ्नै र बाँकी ऋण खोजेर लगानी गरेको रानाले बताउनुभयो । बन्दाबन्दीमा घर फर्कनुभएका खत्री, थापा र रानाझैँ यहाँ अन्य युवा पनि स्वरोजगार बन्नतर्फ लालयित छन् । बसाइँसराइले रित्तिदै गएका गाउँमा भविष्य देख्दैछन् । रासस
प्रतिक्रिया