जीवनस्तर उठाउँदै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

जीवनस्तर उठाउँदै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङको बङ्गलाचुली गाउँपालिका– २ मर्पेसका खेतुलाल विकले यस वर्ष व्यावसायिक पिँडालु र अदुवाखेतीबाट राम्रो आम्दानी लिनुभएको छ । उहाँ धिमधिमे मालारानी बहुउद्देश्यीय किसान समूहका अध्यक्ष समेत हुनुहुन्छ । सो समूहमा अहिले २० जना किसान आबद्ध छन् । उक्त समूहका सबैजनाले गाउँमा पिँडालु र अदुवाखेती गरेका छन् । यसैलाई उनीहरुले पछिल्लो सयम राम्रो आम्दानीको स्रोत बनाएका छन् ।

विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका दुर्गम बस्तीका बाासिन्दाको जीवनस्तर सुधार्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले सो पालिकामा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम समेत कार्यान्यवनमा ल्याएको छ । कार्यक्रमबाट यहाँका ग्रामीण क्षेत्रका जनताको जीवनस्तर फेरिएको छ ।

अध्यक्ष विकले भन्नुभयो “आफ्नो जमिनमा उब्जनी भएको अन्नले मुस्किलले तीन महिना मात्र खान पुग्दथ्यो । आम्दानीको स्रोत केही पनि थिएन । पिँडालुखेती गरेर यहाँका बासिन्दाको आम्दानी बढेको छ । ”

उहाँका अनुसार यस वर्ष समूहलाई कार्यक्रमबाट रु ६ लाख बराबरको पिँडालु र अदुवाको बीउ अनुदान प्राप्त भएको थियो । “गत वर्ष एक क्विन्टल बीउ रोपेकोमा २० क्विन्टल आम्दानी भयो ”उहाँले भन्नुभयो,“यस वर्ष तीन क्विन्टल बीउ राखेका छांै, एक खण्ड पिँडालुको दुई खण्ड धान साटेर समूहका सबै सदस्यको घरमा १० महिना खानपुग्ने अन्न जुटाउन सकिने भएको छ ।”

गाउँपालिकाका उपाध्यक्ष यमुना थापामगरले पछाडि परेको समुदायलाई व्यावसायिक रुपमा पिँडालु अदुवाखेतीमा प्रोत्साहन गरी सहयोग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“युवाहरुलाई स्वदेशमै आम्दानी गर्ने अवसर मिलेको छ ।” बङ्गलाचुली गाउँपालिकाका कृषि विकास कार्यालयका प्रमुख दानसिंह रोकाले व्यावसायिक रुपमा खेती गरेको पहिलो वर्षमा नै आम्दानी धेरै भएको जानकारी दिनुभयो ।

कार्यालयबाट विषादी, जैविक मल र भिटामिनलगायतका सहयोग गरेको थियो । पहिलो वर्षमा नै किसानले पिँडालुबाट आम्दानी गरेका छन् ।

पिँडालु तराईमा अत्यधिक बिक्री हुन्छ । यसको पात, डाँठ र गानोलाई तरकारीको रुपमा प्रयोग गरिन्छ । पातबाट बनेको पाप्रोलाई औषधिको रुपमा र करकलो (डाँठ) को म¥यौरा बनाएर तरकारीको रुपमा खाने गरिन्छ भने गानो (फल) लाई तरकारी र उसिनेर माघे सङ्क्रान्तिमा खाने गरिन्छ ।

गत वर्ष दाङका तीन स्थानीय तहमा सो कार्यक्रम लागू भएको थियो । राप्ती गाउँपालिका–६ रामकुमार चौधरीका बारीमा बन्दा, काउली, गोलभेडा बारीभरी लटरम्म फलेका छन् । तरकारी बेचेर यसै याममा उहाँले रु ५० हजार कमाइ गर्नुभएको छ ।

आफ्नो पाँच कठ्ठा र १० कठ्ठा भाडाको जमिनमा तरकारीखेती गर्नुभएका उहाँले विभिन्न जातका तरकारी उत्पादन गर्नुभएको छ । प्राविधिक सीप कृषि कार्यालयबाट तालीम लिएर तरकारीखेतीमा लागेको उहाँले बताउनुभयो । सो पालिकाको वडा नं ६ र ७ का ५० जना किसान व्यावसायिक तरकारी खेतीमा आवद्ध रहेका मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका संयोजक टीक बस्नेतले जानकारी दिनुभयो ।उहाँले चालू आर्थिक वर्षमा जिल्लाका दशवटै पालिकामा कार्यक्रम विस्तार गरिएको जानकारी दिनुभयो ।

बङ्गलाचुली गाउँपालिकाको वडा नं ५ को कुडुलेमा ‘फलफूल पकेटक्षेत्र निमार्ण’ अन्तर्गत १५० परिवारलाई रु चार लाख बराबरको फलफूलखेती तालीम र विरुवा वितरण गरिएको कार्यक्रम उहाँले बताउनुभयो ।

त्यसैगरी सोही गाउँपालिकामा आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत दुई हजार परिवारलाई रु १० लाखको बराबर सहयोग गरेको छ । तरकारीखेती सिंचाइ व्यवस्थापनका लागि वडा नं ६ का ६५ परिवारलाई रु दुई लाख ५० हजार सहयोग गरी पिँडालु, अदुवा र बेसारको पकेट क्षेत्र निर्माण गरेको छ भने वडा नं २ का ४२ परिवारका लागि रु ६ लाख ५० हजारको लगानी गरेको संयोजक बस्नेत जानकारी दिनुभयो ।

उहाँका अनुसार वडा नं १ देखि ८ सम्म बाख्रापालनको पकेटक्षेत्र निर्माणका लागि तालीम र बोयर जातको बोका समेत वितरण गरिएको छ । स्थानीय २१६ परिवारलाई रु २० लाख बाराबरको सहयोग र पाँच सय बालबालिकाका लागि लागि रु चार लाखको शैक्षिक सामग्री वितरण गरिएको छ ।