द्वन्द्वकालका विस्थापित तालीम केन्द्र पुनःस्थापना गरिँदै

द्वन्द्वकालका विस्थापित तालीम केन्द्र पुनःस्थापना गरिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १३ पुस । सिन्धुपाल्चोकको डाडाँपाखरमा रहेको सशस्त्र प्रहरीको नाममा रहेको जमीन प्रयोगको पहल शुरु भएको छ । द्वन्द्वकालमा माओवादी आक्रमणमा परेपछि यहाँको तालीम केन्द्र विस्थापन भएको थियो । सुरक्षाको हिसाबले पनि यस क्षेत्रमा आवश्यक रहेको सुरक्षा निकायको विस्थापनपछि निकै समस्या भएको थियो ।

हाल यहाँका समाजसेवी दीपक भण्डारीको समन्वयमा सशस्त्र प्रहरीले यो जमीन पुनःप्रयोगका लागि गुरुयोजना निर्माण गर्न शुरु गरेको छ । स्थानीय सरकारको प्रतिबद्धतापछि सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक रामशरण पौडेलको नेतृत्वमा गुरुयोजना निर्माणको काम शुरु भएको हो ।

आइतबार लिसङ्खुपाखर गाउँपालिका अध्यक्ष कमल नेपाल, यस क्षेत्रका प्रदेशसभा सदस्य सरेश नेपाललगायत स्थानीय जनताले यो जमीन सशस्त्र प्रहरीले प्रयोग गरेर संरचना निर्माण गरे सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । लिसङ्खुपाखर गाउँपालिका–७ मा रहेको झण्डै ५५ रोपनी जमीनमा शुरुमा जनपद प्रहरीको तालीम केन्द्र सञ्चालन भएको थियो ।

माओवादी आन्दोलन शुरु भएपछि यो जमीनमा सशस्त्र प्रहरीको युनिट बसेको थियो । पछि सुरक्षाको दृष्टिले जोखिम बढेपछि यहाँबाट सशस्त्र प्रहरी विस्थापन भएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले पनि विगतमा यही तालीम गर्नुभएको थियो । ‘‘विगतमा मैले पनि यही तालीम लिएको हो । यहाँको भूवनोट पनि उचित भएकोले यो जमीन सशस्त्र प्रहरीले पुनःप्रयोग गर्न आवश्यक रहेका कारण यहाँ गुरुयोजना निर्माण गर्न लागेको हो’’, अतिरिक्त महानिरीक्षक पौडेलले बताउनुभयो ।

पौडेलको नेतृत्वमा पुगेको प्राविधिक टोलीले सर्भेपछि गुरुयोजना निर्माण गर्ने र त्यसपछि काम शुरु हुने पौडेलले बताउनुभयो । उहाँका अनुसार तीन वटा विकल्पमा छलफल भएको छ । यस क्षेत्रमा विपत् उद्धारको स्थान नभएका कारण सशस्त्र प्रहरीले विपद् उद्धार युनिट स्थापना गर्ने कि अधिकृतस्तरको तालीम केन्द्र स्थापना गर्ने या पुरानै प्रकारको तालीम केन्द्र स्थापना गर्ने विकल्पमा काम अघि बढेको पौडेलले बताउनुभयो ।

तीन विषयको निक्र्यौल भने विस्तृत सर्भेपछि मात्र तय हुने सशस्त्रको भनाइ छ । अरनिको राजमार्गअन्तर्गत खाडीचौर चरिकोट खण्डमा हुने सवारी दुर्घटनाका घाइतेलाई उद्धार गर्नका लागि पनि उद्धार युनिट आवश्यक भएका कारण यहाँ सशस्त्रलाई अनुरोध गरिएको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले बताउनुभयो । यहाँ सशस्त्रको तालीम केन्द्र हुँदा स्थानीय उत्पादनको पनि खपत भएका कारण पुनः स्थापनाका लागि जोड दिइएको हो । रासस