कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

कांग्रेसद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांगे्रसले सरकारले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध देशभर प्रदर्शन गरेको छ । कांग्रेस केन्द्रीय समितिको यही पुस ९ गतेको बैठकले १६५ सङ्घीय निर्वाचन क्षेत्रमा पार्टीका क्षेत्रीय कार्यसमितिको आयोजनामा एकसाथ प्रदर्शन गर्ने निर्णय गरेको थियो । देशव्यापी विरोध प्रदर्शनका क्रममा आज काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा विभिन्न नेताले सम्बोधनका क्रममा प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको तर्क गरे ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ नंको नयाँ बानेश्वर चोकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, २ नंको कोटेश्वर चोकमा प्रवक्ता विश्वप्रकाश शर्मा, ३ नं को जोरपाटी चोकमा केन्द्रीय सदस्य पूर्वमन्त्री अम्बिका बस्नेत, ४ नं को नारायणचौर नक्सालमा प्रदेशसभा सदस्य नरोत्तम वैद्य र राधा घले तथा ५ नंको नारायणगोपालचोक महाराजगञ्जमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले सम्बोधन गर्नुभएको थियो ।

यसैगरी निर्वाचन क्षेत्र नं ६ को मनमैजु लोकतान्त्रिक चोकमा पूर्वमन्त्री भीमसेनदास प्रधान र काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, ७ नं को बालाजु चोकमा नेताहरु मुकुन्द रिजाल र प्रमोदहरि गुरागाईँ, ८ नंको वसन्तपुर डबलीमा पूर्वमन्त्री नवीन्द्रराज जोशी, ९ नंको कलङ्की चोकमा पूर्वसांसद ध्यानगोविन्द रञ्जित र १० नं को कीर्तिपुर बजारमा निवर्तमान पूर्वमन्त्री राजेन्द्रकुमार केसीलगायतले सम्बोधन गर्नुभएको थियो ।

सबै क्षेत्रका विभिन्न स्थानबाट पार्टीका नेता तथा कार्यकर्तासहितको जुलुससभामा परिणत भएको थियो । निर्वाचन क्षेत्र नं १ को प्रदर्शनपछि विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले आफ्नो पार्टीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसकेर संसद् भङ्ग गर्नुभएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले दुई तिहाइ मतको कुरा गरे पनि जनप्रतिनिधिबाट विश्वासको मत लिने आँट गर्न नसकेको टिप्पणी गर्नुभयो । सरकारले जनताले पाँच वर्षका लागि दिएको जनादेशानुसार काम गर्न नसकेको र भ्रष्टाचार पनि रोक्न नसकेको नेता सिंहको भनाइ थियो । रासस