सुत्केरीसँग नगरपालिका कार्यक्रम

सुत्केरीसँग नगरपालिका कार्यक्रम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान नगरपालिकाले सुत्केरीसँग नगरपालिका कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाभित्र रहेका र संस्थागत सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले कार्यक्रमको शुरुआत गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । मातृशिशुु मृत्युदर घटाउन र कुपोषणको अवस्थामा सुधार ल्याउनका लागि कार्यक्रममार्फत पोषणयुक्त खानेकुरा तथा सरसफाइ सामग्री उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

गत असोजदेखि वडा नं ३ स्थित सापडाँडा स्वास्थ्यचौकीबाट कार्यक्रमको शुभारम्भ गरिएको थियो । हाल नगरपालिकाका १० वटै वडाका स्वास्थ्य संस्थामा सो कार्यक्रम लागू गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले बताउनुभयो । कार्यक्रममार्फत हालसम्म २५० सुत्केरीले कोसेली पाएको उहाँको भनाइ छ ।

सुत्केरी महिलालाई १२ प्रकारका सामग्री (नुहाउने, लुगाधुने साबन, टुथ पेष्ट, ब्रस, सेनेटरी प्याड, हर्लिक्स, अण्डा, काइयो, नङकट, दशमुलारिष्ट) सहितको झोला दिने गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कार्यक्रम कार्यान्वयन गर्न खोजिए पनि सामग्री खरिदलगायतका कारणले ढिलाइ भएको हो । कार्यक्रमका लागि नगरपालिकाले रु नौ लाख विनियोजन गरेको नगरप्रमुख कक्षपतिले जानकारी दिनुभयो ।

स्वयंसेविकालाई बर्सेनि उपहार

चन्द्रौटा ः कपिलवस्तुको शिवराज नगरपालिका– ३ ले महिला स्वास्थ्य स्वयंसेविकालाई बर्सेनि उपहार प्रदान गर्ने गरेको छ । स्थानीय तहको निर्वाचन पश्चात वडामा रहेका स्वयंसेविकालाई उपहारस्वरुप वर्षमा एक पटक उपहार दिने गरेको वडाध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । निःस्वार्थरुपमा समाजको काममा खटिने भएकाले उनीहरुलाई प्राथमिकतामा राखेर वडाले वार्षिक कार्यक्रममै उपहार कार्यक्रम बनाउने गरिएको उहाँले बताउनुभयो ।

निर्वाचन भएको शुरुको वर्ष उपहारस्वरुप टर्चलाइट प्रदान गरेको नगरपालिकाले यस वर्ष दराज वितरण गरेको छ । गत वर्ष बाक्सा वितरण गरिको थियो । महामारीको समयमा पनि स्वास्थ्य क्षेत्रमा हरेक वडाका बासिन्दालाई आधारभूत स्वास्थ्य सेवा सन्देश पु¥याउने सम्बाहकका रुपमा काम गर्दै आएका महिला स्वास्थ्य स्वयंसेविकालाई उपहार प्रदान गरिएको अध्यक्ष सापकोटाले बताउनुभयो ।

हेलिप्याड निर्माण

रुकुमपूर्व ः पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा हेलिप्याड निर्माण गरिएको छ । रन्मामा लामो समयको पहल र प्रयासपछि हेलिप्याड निर्माण सम्पन्न गरिएको हो । रन्मामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु तीन लाख ६० हजारमा हेलिप्याड निर्माणको काम सम्पन्न भएको वडाध्यक्ष धोक्रा बुढाले जानकारी दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँमा रहेका बेरोजगार युवा र अन्यलाई परिचालन गरी हेलिप्याड निर्माण गरिएको वडाध्यक्ष बुढाले बताउनुभयो ।

सडक सञ्जालको पहुँचभन्दा टाढा रहेको रन्मामा हेलिप्याड निर्माण भएपछि स्थानीयलाई केही राहत मिल्ने भएको छ । सडक नपुगेको उक्त ठाउँका नागरिकले आपत्विपत् पर्दा विपल्पका रुपमा हेलिकप्टर नै प्रयोग गर्ने गर्छन् । तत्कालै र सहजैरुपमा रन्मा सडक सञ्जालमा जोडिन सक्ने अवस्था नदेखिएपछि हेलिप्याड निर्माण गरिएको हो । अब भने बिरामीको उद्धार गर्न सहज हुने वडाध्यक्ष बुढाले बताउनुभयो ।

तलब वृद्धिको माग गर्दै मागपत्र

भूमे गाउँपालिकामा रहेका विद्यालयका बाल शिक्षक र कार्यालय सहयोगीले तलब वृद्धिको माग गर्दै गाउँपालिकामा माग पत्र पेश गरेका छन् । गाउँपालिकाभरिमा ३३ विद्यालय छन् । त्यसमध्येका २४ विद्यालयका बाल शिक्षकशिक्षिका र १८ विद्यालयका कार्यालय सहयोगीले संयुक्तरुपमा तलब वृद्धिको माग गर्दै गाउँपालिकामा माग पत्र बुझाएका हुन् । लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएका बाल शिक्षकशिक्षिका र कार्यालय सहयोगीले कामअनुसारको तलब नपाएको भन्दै संयुक्तरुपमा माग पत्र बुझाएका हुन् । रासस