सिड्नी, २४ पुस – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाली मध्यक्रमका ब्याट्सम्यान स्टिभेन स्मिथले शतक प्रहार गरेका छन् । स्मिथको शतकको मद्दतले अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ रनको मध्यम स्कोर खडा गरेको छ ।
स्मिथले १३१ रनको महत्वपूर्ण योगदान दिएका थिए । वर्षाले प्रभावित खेलमा दोस्रो दिनको खेल दुई विकेटको क्षतिमा १६६ रनबाट अगाडि बढाएको अस्ट्रेलियाले मध्य र पुछारका क्रमका ब्याट्सम्यानको फितलो प्रदर्शनका कारण ३३८ रनमै पूरै टिम समेटिएको थियो ।
अस्ट्रेलियाका लागि स्मिथ बाहेक प्रारम्भिक ब्याट्सम्यान विल पुकोभ्स्कीले ६२, मार्नस लाबुसानेले ९१, मिचेल स्टार्कले २४ तथा म्याथ्यु वेडले १३ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तोमै आउट भएका थिए ।
डेभिड वार्नर ५, क्यामरुन ग्रिन ०, कप्तान टिम पेन १, प्याट कमिन्स ०, नाथन लायन ० तथा जस हेजलउडले अविजित १ रन बनाएका थिए । भारतका लागि रबिन्द्र जडेजाले ४, नवदीप सैनीले २, मोहम्मद सिराजले १ तथा जसप्रित बुमराहले २ विकेट लिएका थिए ।
यसैबीच, भारतले आफ्नो पहिलो इनिङ शुरु गरेको छ । दोस्रो दिनको खेल सकिँदा भारतले २ विकेटको क्षतिमा ९६ रन बनाएको छ । भारतीय ब्याट्सम्यान रोहित शर्माले २६ बनाएर हेजलउडको बलमा आउट भएका छन् भने शुभमन गिल ५० रन बनाएर प्याट कमिन्सको बलमा आउट भइसकेका छन् ।
दोस्रो दिनको खेल समाप्त हुँदा कप्तान अजिन्क्य रहाणे ५ रन र चेतेश्वर पुजारा ९ रन बनाएर अविजित छन् । भारत अझै पनि अस्ट्रेलियाभन्दा २४२ रनले पछि छ ।(रासस–एएफपी)
प्रतिक्रिया