ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा

ट्राई साइकल र ह्वीलचेयर अपाङ्गताको सहारा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जन्मजात दुबै खुट्टा नभएकी सप्तरीको कञ्चनरुप नगरपालिका–४जगतपुरकी पुष्पा चौधरीको अनुहारमा बेग्लै खुशी देखिन्छ । दुबै खुट्टा नभएर सधैँ अरुको साहारमा जीवन बिताउँदै आएकी उहाँको अनुहारमा खुशी फर्किनुको कारण निःशुल्क ट्राई साइकल हो । ‘‘दुबै खुट्टा नभएपछि अरुको साहारमा कष्टकर जीवन बिताइरहेको थिएँ” ३२ वर्षीया पुष्पाले भन्नुभयो, ‘‘तर राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले निःशुल्क ट्राई साइकल दिएपछि हिँडडुल गर्न र आत्मनिर्भर बन्ने बाटो खुलेको छ ।” अब ट्राई साइकलकै साहाराले रोजगारी गर्नसक्छु भने आत्मविश्वास पलाएको उहाँको कथन छ ।

आर्थिक अभावका कारण सहायक सामग्री खरिद गर्न नसकेकी उहाँले ढिल्लै भए पनि ट्राई साइकल पाएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । कक्षा ५ सम्मको अध्ययन गरेकी उहाँले भन्नुभयो,‘‘पढ्ने रहर थियो, तर खुट्टा नहुँदा विद्यालय जान सक्ने अवस्था थिएन् त्यसैले पढाइ अधुरैमा छाड्नु प¥यो ।”

विगत एक दशकदेखि पक्षघातका कारण पीडित कञ्चनरुप नगरपालिका–१ बैरबाका ६५ वर्षीय शेख अबासको पनि जीवनमा ह्वील चेयरको साहारा बनेको छ । पक्षघातको शिकार भएर थलिनु भएका अवासको लागि ह्वील चेयर बरदान नै सावित भएको छ । ‘‘पक्षघात भएपछि उहाँलाई उठबस गर्न सक्ने अवस्था छैन्”, अबासका छोरा इब्रामले भन्नुभयो,‘‘ तर ह्वील चेयर पाएपछि अहिले उहाँ एक ठाउँबाट अर्काे ठाउँमा सहज रुपमै घुमफिर गर्न सक्ने हुनुभएको छ ।”

पोलियो भएर दुबै खुट्टा काम नलाग्ने भएपछि कष्टकर दिन बताउँदै आउनु भएकी कञ्चनरुप–४ जगतपुरकै अनिता चौधरीको लागि पनि बाँच्ने ठूलो आधार बनेको छ, ह्वील चेयर । ‘‘खुट्टा नै नभएपछि घरमै बसाएर दिशापिसाब गराउनुपर्ने अवस्था थियो” उहाँकी आमा सुमित्राले भन्नुभयो,‘‘ तर ह्वीलचेयर पाएपछि अब सहज भएको छ ।”
पुष्पा, अबास र अनिता नभइ लामो समयदेखि आपाङ्गताको रुपमा कष्टकर जीवन बिताउँदै आएका सप्तरीको कञ्चनरुपमा ५१ जना आपाङ्गता भएका व्यक्तिका लागि ट्राई साइकल, ह्वील चेयर र सेतो छडी साहार बनेको छ । कञ्चनरुप नगरपालिकाको विभिन्न वडाका आपाङ्गता भएका व्यक्तिलाई राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले ह्वील चेयर, ट्राईसाइकललगायतका सहायक सामग्री वितरण गरेको छ ।

कञ्चनरुपको सामाजिक विकास शाखा र सामाजिक अभियन्ता चन्द्रकिशोर कल्याणको समन्वयमा राष्ट्रिय आपाङ्गता पुनःस्थापना समाजले कञ्चनरुपको विभिन्न वडाका ५१ जना आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको हो ।

नगरको ५१ आपाङ्गता भएका व्यक्तिलाई १९ थान ह्वील चेयर, १० ट्राई साइक, १० जोडी वैशाखी, पाँच सेतो छडी, दुई वाकर र पाँच एल्बो वैशाखी वितरण गरेको राष्ट्रिय आपाङ्ग पुनःस्थापना समाजका उपाध्यक्ष सुगम भट्टराईले जानकारी दिनुभयो ।

देशका ७७ जिल्लाका आपाङ्गताता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गर्ने लक्ष्यका साथ अभियान शुरु गरेको र हालसम्म ६५ जिल्लाका आपाङ्गता व्यक्तिलाई ह्वील चेयर, ट्राईसाइकल वितरण गरिसकेको उहाँले बताउनुभयो । नगरपालिका कार्यालय परिसरमा आयोजित सहायक सामग्री वितरण कार्यक्रममा नगरप्रमुख वसन्तकुमार मिश्र, उपप्रमुख निरु पोखरेल,े प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले आपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री प्रदान गर्नुभयो ।