निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउँछौँ : पूर्वअर्थमन्त्री कार्की

निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउँछौँ : पूर्वअर्थमन्त्री कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कांग्रेसले निर्वाचन र आन्दोलनलाई सँगसँगै अगाडि बढाउने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन सुनसरीले आज इटहरी उपमहानगरपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएका कारण कांग्रेस निर्वाचनमा जान कहिल्यै नडराउने र शान्तिपूर्ण आन्दोलनलाई पनि निरन्तरता दिने बताउनुभयो । कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसको रक्षा कांग्रेसले नै गर्ने उहाँको जिकिर थियो ।

नेता कार्कीले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विषय सम्मानित सर्वोच्च अदालमा गइसकेकाले त्यसकै निर्णयको प्रतीक्षामा कांग्रेस रहेको बताउनुभयो । प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले गर्ने निर्णयलाई नेपाली कांग्रेसले सहर्ष स्वीकार गर्ने उहाँले बताउनुभयो ।

नेकपाको दुई समुहको लडाइँका कारण देश ठूलो दुर्घटनातर्फ जान लागेको बताउनुहुँदै यो समयमा कांग्रेसले निर्णायक भूमिका निर्वाह गरेर देशलाई विकासको बाटोमा डोर्याउनुपर्ने बेला आएको नेता कार्कीको भनाइ थियो । देशलाई समृद्ध मुलुक बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उहाँले तर्क गर्नुभयो ।