पाँचथरको कुम्मायकमा आगलागी हुँदा दुई घर जलेर नष्ट,७० लाखको क्षति

पाँचथरको कुम्मायकमा आगलागी हुँदा दुई घर जलेर नष्ट,७० लाखको क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबार भएको आगलागीबाट दुई घर जलेर नष्ट हुँदा रु ७० लाखको क्षति भएको छ । कुम्मायक–१ ओखलढुङ्गा बस्ने तेजबहादुर थापाको गोठबाट अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आगलागीबाट थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुईतले भान्छाघर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले बताउनुभयो ।

यस्तै डिकबहादुर थापाको ढुङ्गा माटोले बनेको फुसको छानो भएको तीनतले घर, चौपाया राख्ने ढुङ्गा माटोले बनेको फुसको छानो भएको एकतले ग्वाली, चौपाया भेडा एउटा, नगद, सुनचाँदीका गरगहना र अन्नपातसमेत जलेर नष्ट भएको उहाँले बताउनुभयो । स्थानीयवासी र इलाका प्रहरी कार्यालय यासोकबाट गएको टोलीले तीन घण्टापछि आगो निभाएको थियो ।