टोलदेखि घरसम्म पुगेर ज्येष्ठ नागरिकको सम्मान

टोलदेखि घरसम्म पुगेर ज्येष्ठ नागरिकको सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले ज्येष्ठ नागरिकहरुलाई टोलदेखि घरसम्म पुगेर सम्मान गर्दै आउनुभएको छ । उहाँले पालिकाका ८५ वर्षदेखि ९० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई प्रत्येक टोलमा पुगेर सम्मान गर्दै आउनुभएको हो । कार्यक्रम स्थलसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई भने घरमै पुगेर सम्मान गर्दै आउनुभएको छ ।

ज्येष्ठ नागरिकको अवस्था बुझ्न र उहाँहरुलाई जाडोमा न्यानो ओढ्ने फाइबरको सिरक, पौष्टिक तत्वयुक्त खानेकुरा लिएर जाने गरेको उहाँले बताउनुभयो । पालिकाले चालु आर्थिक बर्षको बजेटमा रु दुई लाखभन्दा बढी बजेट ज्येष्ठ नागरिकको सम्मानका लागि छुट्याएको उहाँको भनाइ छ ।

“कतिपय ज्येष्ठ नागरिकका लागि सानो सम्मान पनि जाडोमा ठूलो भएको छ”, अध्यक्ष काफ्लेले भन्नुभयो, “आर्थिक रूपमा विपन्न ज्येष्ठ नागरिकहरु सिरक लिएर घरमा पुग्दा खुशीले गद्गद हुनुहुन्छ ।” उहाँले तीनदिन अघिदेखि शुरु गरेको कार्यक्रममा पालिकाभित्रका २७० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताउनुभयो ।

सम्मानको कार्यक्रम लिएर घरघरमा पुग्दा कतिपय ज्येष्ठ नागरिकको अवस्था दयनीय पाइएको उहाँको भनाइ छ । “ज्येष्ठ नागरिक अमूल्य सम्पति, ज्ञान र अनुभवका भण्डार भए पनि कतिपयको जीवन दुःखदायी र कष्टपूर्ण पाएँ, उहाँहरुले पोखेका गुनासा र समस्याको समाधान गर्न सकेसम्म पहल गर्नेछु”, उहाँले भन्नुभयो ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता विवरणको आधारमा उहाँहरुको पहिचान गरिएको उहाँले बताउनुभयो । गत वर्ष ९० वर्षमाथिका १०० भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उहाँले पालिकाले पठाएको विवरणको आधारमा प्रदेश नम्बर १ को सरकारले प्रतिव्यक्ति पठाइदिएको ज्येष्ठ सम्मान वापतको नगद रु पाँच हजारमा आफूले न्यानो सिरक थपेर वितरण गरेको बताउनुभयो ।