नेपाली कांग्रेसका नेता डा रामशरण महतले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताउनुभएको छ । विश्व हिन्दू महासङ्घ नेपालले २९९औँ पृथ्वी जयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको ‘नेपालको सनातन धर्म संस्कृति संरक्षणको क्षेत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले नेपाललाई अहिलेको अवस्थामा पु¥याउनका लागि शाहको महत्वपूर्ण योगदान रहेको बताउनुभएको हो ।
“पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरेको भए नेपाल बेलायतको अधिनमा पुगिसक्थ्यो, उहाँकै योगदानका कारण हामी अहिले नेपाली भएर बाँच्न पाएका छौँ”, डा महतले भन्नुभयो । पूर्वअर्थमन्त्री महतले पृथ्वीनारायण शाहले सामाजिक अर्थनीतिलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । जनताको भावनालाई कदर गर्ने व्यक्ति पृथ्वीनारायण शाह भएको उहाँको भनाइ थियो । डा महतले पृथ्वीनारायण शाहको दिव्यउपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
विश्व हिन्दू महासङ्घ नेपालका अध्यक्ष एवं पूर्वसहायकमन्त्री डा रामचन्द्र अधिकारीले मुलुकमा धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र आवश्यक रहेको उल्लेख गर्नुभयो । वाचन प्रविण दिनबन्धु पोखरेलले संस्कृतिमा राष्ट्रियता खोज्ने काम पृथ्वीनारायण शाहको पालादेखि शुरुआत भएको बताउनुभयो । नेपालको पाशुपत क्षेत्र योग र ध्यानको केन्द्र भएकाले विश्वमा नेपालको छुट्टै पहिचान रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसका युवा नेता विष्णु धितालले हिन्दू राष्ट्र निर्माणका लागि देशभरका सम्पूर्ण ॐ कार परिवार एकजुट हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले हिन्दू राष्ट्र बनाउने महाअभियानमा जुट्न सबैलाई आग्रह गर्नुभयो । रासस
प्रतिक्रिया