स्थानीय तह आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घरमाटाको छानामुक्त गराउँदै

स्थानीय तह आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घरमाटाको छानामुक्त गराउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खलङ्गा, २८ पुस । जुम्लाका आठवटै स्थानीय तहले आफ्नो पालिकाभित्रका अति गरीब र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका घर माटोको छनामुक्त बनाउन थालेका छन् ।

यहाँको तिला गाउँपालिकाले पहिलो चरणमा वडा नं ३ स्थित फलबाडा गाउँलाई माटोको छानामुक्त गाउँ अभियान थालेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नमराज सापकोटाले बताउनुभयो । गाउँ कार्यपालिको बैठकले सो वडाको गाउँलाई छनोट गरी कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाएको प्रशासकीय अधिकृत सापकोटाको भनाइ छ ।

उहाँले भन्नुभयो, “पालिकाभित्रका सबै स्थानीय बासिन्दाको घर माटोको छानाले छाएका छन् । यो वर्षको सबै बजेट एउटै वडाको एक गाउँलाई छनोट गरी विकासे योजनालाई देखिने गरी काम शुरु गरेका छौँ ।” यो अभियान क्रमशः पालिका नौवटै वडाका गाउँमा लागू हुने तिला गाउँपालिका जनाएको छ । प्रतिघरलाई रु ५० हजारका दरले सो वडाका करीब २५० घरधुरीलाई पहिलो चरणमा माटोको छानामुक्त घर गर्न थालेको गाउँपालिकाका सामाजिक विकास अधिकृत जङ्गबहादुर बस्नेतले बताउनुभयो ।

गाउँपालिका सातवटै वडाका ६५ जना आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई छनोट गरी माटोको छानामुक्त गर्नका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई तथ्याङ्क पठाइसकेकाले र त्यहाँबाट बजेट आउने बित्तिकै माटोको छनामुक्त घर निर्माण गर्न लागि पर्ने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताउनुभयो । धनजनको हुने क्षति बचाउनका लागि माटोको छाना हटाएर जस्तापाताको छाना प्रयोग गरिने यहाँका स्थानीय तहका प्रमुख बताउँछन् । सो पालिकाले पनि दोस्रो चरणमा यहाँका सबै वडाका गाउँलाई माटोको छानामुक्त गाउँ गरिने गाउँपालिका अध्यक्ष लछिमान बोहोराले बताउनुभयो ।

यो कार्यक्रम सङ्घ, प्रदेश र स्थानीय तहले पनि सञ्चालन गरेका छन् । जिल्लाको हिमा, सिञ्जा, तातोपानी, कनकासुन्दरी, गुठीचौर र चन्दननाथ नगरपालिकामा पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको तथ्याङ्क सङ्कलन गर्ने कार्य अन्तिम चरण पुगेको ती स्थानीय तहका सामाजिक विकास शाखाले जनाएका छन् ।

पाँच श्ययाको कोभिड अस्पताल

पातारासी गाउँपालिकाले पाँच श्ययाको कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको छ । सो अस्पताल उद्घाटन गर्दै अध्यक्ष लछिमान बोहराले अहिले पनि कोरोना कम नभएको भन्दै कठिन अवस्था आएमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट जोगाउन सघाउने बताउनुभयो ।

सङ्घीय सरकारको रु १० लाखको बजेटमासो अस्पताल निर्माण गरिएको हो । अस्पताल सञ्चालनका लागि मेडिकल अफिसर, दुई जना स्टाफ नर्स र कार्यालय सहयोगी व्यवस्था गरेअनुसार मेडिकल अफिसरको दरखास्त नपरेको र अरू स्टाफसमेत भर्ना गरी काम पुनः सञ्चालन गरिएको पातारासी गाउँपालिकाले जनाएको छ ।

यसअघि सिञ्जा, तातोपानी, गुठिचौर गाउँपालिकामा समेत अस्थायी अस्पताल सञ्चालन गरिसकेका छन् । सङ्घीय सरकारकै लगानीमा तिला गाउँपालिकाको कुडारीमा १० श्ययाको अस्पताल निर्माणका लागि शिल्यान्यास गरिएको छ । यसैगरी सिञ्जा क्षेत्रको कनकासुन्दरी गाउँपालिकामा १५ श्ययाको अस्पताल शिलान्यासको तयारी भएको गाउँपालिकाले जनाएको छ । पुस २९ गते नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री नवराज रावत अस्पताल शिलान्यास गर्न जुम्ला पुग्न स्वास्थ्यकर्मी नेत्र खत्रीले बताउनुभयो ।

६ वडाको जिम्मेवारी एक सचिवलाई

जुम्लाकको सिञ्जा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीलाई ६ वटा वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नुपरेको छ ।

गत पुस १५ गतेदेखि सबै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरिरहेको छ । एकजना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नुपर्दा निकै कठिन भइरहेको वडा सचिव रोकायाले बताउनुभयो । कर्मचारी अभावका कारण वडा कार्यालयमा हुने काममा समस्या हुने गरेको सो वडाका स्थानीयवासी बताउँछन् ।

वडा कार्यालयमा केही काम गर्नु परे सचिव खोज्दै जानुपर्ने अवस्था रहेको स्थानीयवासी रत्नवीर बुढाले बताउनुभयो । वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाइँसराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडाअध्यक्ष रणबहादुर रोकायाले बताउनुभयो ।

गाउँपालिकामै कर्मचारी अभाव भएकाले वडादेखि पालिकाको प्रशासनिक काममा पनि समस्या भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी अभावले सेवाप्रवाहमा यहाँका स्थानीयवासीलाई असर परेको छ ।” कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको गाउँपालिका अध्यक्ष रावलले बताउनुभयो । रासस