गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा मूल्यवृद्धि सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । प्रस्तावको छलफलमा अधिकांश सदस्यले मूल्यवृद्धिका कारण सर्वसाधारण जनता मारमा परेको बताउँदै यसको नियन्त्रण हुनुपर्नेमा जोड दिनुभयो ।
प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य हरिशरण आचार्यले कोरोनाका कारणले मुलुकमा भएको बन्दाबन्दीबाट निर्माण, उत्पादन र सेवा क्षेत्रलगायतका क्षेत्र नराम्ररी प्रभावित भएको बताउनुभयो । कोरोनाका कारण ती क्षेत्रमा प्रत्यक्ष असर गर्दा आम्दानीमा ह्रास आएको, बेरोजगारी समस्या बढेको र मनोमानीरुपमा मूल्यवृद्धि भएको बताउँदै उहाँले यसले जनतालाई प्रत्यक्ष मार परिरहेको बताउनुभयो ।
जथाभावी गरिएको मूल्यवृद्धिको सरकारबाट अनुगमन हुन नसकेको बताउँदै उहाँले दोषीलाई कारवाही नभएको बताउनुभयो । बजारमा कतिपय सामग्रीमा १२५ प्रतिशतभन्दा बढी महँगी भोग्नुपरेको उल्लेख गर्दै उहाँले महँगीसँगै देखिएको कालोबजारी नियन्त्रणमा आउन नसक्दा सर्वसाधारण नराम्ररी प्रभावित बनेको बताउनुभयो । उत्पादित वस्तुमा कृषक तथा उपभोक्ता ठगिएको र विचौलियाले फाइदा लिने गरेको उहाँको भनाइ छ ।
प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना भाइरसको नाममा मूल्यवृद्धि अत्यधिक बढेको बताउनुभयो । मूल्यवृद्धिले सर्वसाधारण अत्यधिकरुपमा प्रभावित भएको बताउँदै उहाँले बजार अनुगमन गर्न नसक्दा पनि मनोमानी बढिरहेको छ भन्नुभयो । प्रत्येक दैनिक उपभोग्य वस्तुको मूल्य बढेको बताउँदै उहाँले १२५ प्रतिशतभन्दा बढी महँगीको मारले सर्वसाधारण पीडित बनिरहेको बताउनुभयो ।
अर्का सदस्य ओमकला गौतमले विपन्न नागरिकका लागि सुपथ मूल्यको कार्ड वितरणको कार्यक्रम ल्याए पनि यसको कार्यान्वयन हुन नसकेको बताउनुभयो । बढिरहेको मनोमानी मूल्यवृद्धिको नियन्त्रणका साथै सुपथ मूल्य पसल खोलेर जनतालाई राहत उपलब्ध गराउनु आवश्यक रहेको उहाँको सुझाव छ । कोरोना महामारीसँगै माक्स, स्यानेटाइजरलगायतको खरीदमा पनि भ्रष्टाचार गरिनु दुर्भाग्य भएको बताउँदै उहाँले बजारमा अराजकता छाएको र बजार सरकारविहीनताको अवस्थामा रहेको बताउनुभयो ।
बैठकमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, इन्द्रधारा विष्ट, मनकुमारी गुरुङ, प्रभा कोइराला, जनकलाल श्रेष्ठ, मणिभद्र शर्मा र कृष्ण थापाले मूल्यवृद्धि नियन्त्रणका लागि बजारको अनुगमनलाई प्रभावकारी बनाउँदै दोषीलाई कारवाही गरिनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा उठेका प्रश्नको जवाफमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकार मूल्यवृद्धि नियन्त्रणका लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । बजारको अनुगमनलगायतका कामलाई पनि प्राथमिकतामा राखिएको बताउँदै उहाँले कृषकले उत्पादन गरेका वस्तुको सिधै बजारीकरणतर्फ पनि सरकारको तयारी रहेको उल्लेख गर्नुभयो ।
मन्त्री लम्सालले बजार अनुगमन नियमावली तयारी गरी अनुगमनको संयन्त्रलाई बजार अनुगमनमा पठाउने गरिएको बताउनुभयो । भारतमा पनि मूल्यवृद्धि भएका कारण त्यसको प्रभाव नेपालमा पनि परिरहेको उहाँको भनाइ छ । गण्डकी प्रदेशमा व्यापारी नाफा मात्रै गर्ने नभई इमान्दारिता पनि देखिएको बताउँदै उहाँले मूल्यवृद्धि नियन्त्रणमा सरकार जिम्मेवारपूर्ण ढङ्गबाट अघि बढिरहेको बताउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी माघ ४ गते दिनको १ बजे बस्नेछ ।
प्रतिक्रिया