सप्तरी सामुदायिक विकास केन्द्र नेपालले यहाँका दुई स्वास्थ्यचौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ ।
युनिसेफ र एनसिभीको आर्थिक सहयोगमा केन्द्रद्वारा सञ्चालित कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाअन्तर्गत सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो । जिल्लाको रुपनी गाउँपालिका–६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका–८ स्थित भङ्गहा स्वास्थ्यचौकीमा फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
क्वारेन्टिन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाइ, स्वच्छता व्यवस्थापन, पूर्वाधार मर्मतसम्भार तथा नयाँ निर्माण र पानी शुद्धीकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।
सो अवसरमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव र प्रमुख प्रशासकीय अधिकृत रेनुका साह, वडाध्यक्ष लक्ष्मीकान्त चौधरी, एनसिभी नेपालका अध्यक्ष गौतम यादवलगायतको सहभागिता थियो ।
एक साता विद्यालय बन्द
शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सप्तरीको उत्तरी क्षेत्रस्थित सप्तकोशी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरेको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बताइएको छ । नगरपालिकाभित्र ११ सार्वजनिक र १२ निजी विद्यालय छन् ।
तराई–मधेसमा विगत चार÷पाँच दिनदेखि अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिनुभयो ।
प्रतिक्रिया