पाल्पा, ५ माघ । काम गरेअनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उहाँहरुको गुनासो छ । कामअनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाउनुभयो ।
“यातायात खर्च तथा सञ्चार खर्चसमेत आफैँ गर्नुपर्ने बाध्यता छ, महिना–महिनामा प्रतिवेदन बुझाउनुपर्छ, महिनामा एक हजार सुविधा मात्र पाइन्छ”, उहाँले भन्नुभयो ।
दैनिक एक दुई घण्टा पैदल हिँडेर सेवा प्रदान गर्दै आए पनि सेवासुविधाको अभाव रहेको उहाँको भनाइ छ । ग्रामीण बस्तीमा दिनभरी हिँडेर काम गरे पनि पुरस्कार पाउने बेला स्वास्थ्यकर्मीले मात्रै पाउने गरेको स्वयंसेविकाको गुनासो छ । महिनाभरी काम गरे पनि यातायात खर्च, सञ्चार खर्च, उचित तलबको व्यवस्था नहुँदा स्वयंसेविकालाई आर्थिक समस्या भएको उहाँ बताउनुहुन्छ ।
सुविधाका नाममा पोशाक खर्च रु १० हजार, मासिक एक हजार सुविधा भए पनि चालू आर्थिक वर्षको पुस महिनासम्मको कुनै पनि सुविधा नपाएकोे स्वयंसेविकाको गुनासो छ । स्वयंसेविकाले प्रत्येक महिना आमा समूहको बैठक सहजीकरण गर्ने, गाउँघर क्लिनिक, खोप क्लिनिक, हजार दिनका आमा आइरन चक्की, बालबालिकालाई बालभिटा, जीवनजललगायतका सुविधा प्रदान गर्दै आएको अर्की स्वयंसेविका मीना थापाले बताउनुभयो ।
महिला गर्भवती भएको चार महिनापछि स्वास्थ्य चौकीमा परीक्षणका लागि जान स्वयंसेविकाले परामर्श दिन्छन् । हजार दिनका आमाका लागि पोषणयुक्त आहारा कसरी खाने, कसरी शिशुलाई आहारा खुवाउने भन्ने विषयमा समेत परामर्श प्रदान गर्र्दै आएको उहाँ बताउनुहुन्छ ।
स्वयंसेविका थापाका अनुसार पालिकामा दुई वर्षदेखि आधारतभूत तालीमको समेत व्यवस्था हुन सकेको छैन । स्वयंसेविकाले मासिक तलबको व्यवस्था गरी काम गर्ने हौसला प्रदान माग गरेका छन् । गाउँपालिकाभित्र ७२ स्वास्थ्य स्वयंसेविका छन् ।
रिब्दीकोट गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक सुनिल अधिकारीले महिला स्वास्थ्य स्वयंसेविकाले सङ्घीय सरकारको सहयोगमा यातायात खर्चबापत वार्षिक रु छ हजार र गाउँपालिकाको छ हजार गरी वार्षिक १२ हजार प्रदान गरिने गरेको बताउनुभयो । नेपाल सरकारद्वारा सञ्चालित भिटामिन तथा पोलियो खुवाउने कार्यक्रममा दैनिक रु ४०० यातायात भत्ता उपलब्ध हुँदै आएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य बीमा कार्यक्रममा पनि ५० प्रतिशत रकममा गाउँपालिकाले सहयोग गर्दै आएको बताइएको छ ।
रैनादेवी छहरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीवन रानाका अनुसार स्वास्थ्य स्वंयसेविका प्रदेश सरकारले वार्षिक रु तीन हजार र गाउँपालिकाबाट रु नौ हजार प्रदान गर्ने बताउनुभयो । रासस
प्रतिक्रिया