मर्मतका लागि विद्युत् आयोजना बन्द

मर्मतका लागि विद्युत् आयोजना बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मर्मतका लागि हिल्दुम साना जलविद्युत् आयोजना बन्द हुने भएको छ । दैनिकजसो विद्युत् अपुग हुने र चुहावट हुँदै आएका कारण पुनःमर्मतका लागि विद्युत् आयोजना बन्द गर्न लागिएको हो ।

सदरमुकाम सिमकोट आसपासका गाउँ र खार्पुनाथ गाउँपालिकामा सेवा प्रवाह भएको विद्युत् एक दिनका लागि बन्दपश्चात् नियमित हुने हिल्दुम विद्युत् वितरण आयोजना कार्यालयका प्रमुख साजन ऐडीले बताउनुभयो । प्रमुख एडीले भन्नुभयो, “माघ १० गते शनिबार परेकाले सदरमुकाम अवस्थित कार्यालयलाई प्रभाव नपर्ने उद्देश्यका साथ हिल्दुम खोलामा रहेको पावरहाउस बन्द हुँदै छ ।”

सोही दिन बिहान ८ बजेदेखि कम्तीमा पनि दुईदेखि तीन घण्टासम्म मर्मत गर्न लाग्ने भएको ऐडीले बताउनुभयो । उहाँका अनुसार मर्मत भएपश्चात् सोहीदिन बेलुका उक्त विद्युत् पुनःसञ्चालनमा आउने छ । हाल सदरमुकाम सिमकोटमा दैनिक दिन कम्तीमा ११ घण्टा विद्युत् भार कटौती हुँदा सेवाग्राही मर्कामा पर्दै आएका छन् ।

कोरोना सङ्क्रमितमुक्त

हुम्ला बिहीबारदेखि कोरोना सङ्क्रमणमुक्त भएको छ । यसअघि कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बस्दै आएका सङ्क्रमितको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोना सङ्क्रमितमुक्त जिल्ला भएको हो । एकजना सिटिजन्स बैंकका कर्मचारीमा कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि हुम्ला कोरोनामुक्त बनेको अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिनुभयो ।

पुस २५ गते एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा सिटिजन्स बैंकका एक जना महिला कर्मचारीसहित अर्का पुरुष कर्मचारीमा समेत कोरोना देखिएको थियो । कोरोना देखिएका पुरुष कर्मचारीलाई केही दिन अगाडि जिल्ला बाहिर काठमाडौँ लगिएको छ भने महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएसँगै उनी घर फिर्ता हुनुका साथै हुल्ला कोरोनामुक्त जिल्ला बनेको छ ।

लामो समय कोरोना सङ्क्रमणका हिसाबले ग्रिनजोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोजयता जिल्लाभरि ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो । ती सबै निको भएर घर फर्किएपछि हाल सङ्क्रमित सङ्ख्या शून्यमा झरेको हो । केही दिन अगाडि सिटिजन्स बैंकका दुई जना कर्मचारीमा कोरोना देखिएकोमा एकलाई कोरोना सङ्क्रमण जटिल बन्दा काठमाडौँ रिफर गरिएको र अर्की एक महिला कर्मचारीको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः शून्यमा झरेको हो ।

गत असोज ३ गते हुम्लामा पहिलोपटक नेपालगञ्जबाट हवाईजहाजमा आएका युवतीमा कोरोना देखिएको थियो । त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएको थियो । रासस