चौँथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा वाग्मती प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । वाग्मतीले लुम्बिनी प्रदेशसँग बराबरी खेल्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो । खेल बराबरी भएपछि दुवैले एक एक अङ्क बाँडेका थिए । वाग्मतीको सात तथा लुम्बिनीको पाँच अङ्क भएपछि वाग्मती सेमिफाइनलमा प्रवेश गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वाग्मतीले निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाउँदै २२० रन बनायो । २२१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ४८ ओभरमा सबै विकेट गुमाएर २२० रन नै बनायो । वाग्मतीका लागि आदिल खानले अर्धशतकीय पारि खेल्नुभयो । उहाँले ८७ बलमा तीन छक्का र पाँच चौकाको मद्दतमा ५५ रन बनाउनुभयो । यसैगरी आकाश थापाले ३९, पृथु बाँस्कोटा २९, कप्तान ज्ञानेन्द्र मल्लले १४, इशान पाण्डेले ५१ त्था नन्दन यादवले अविजित ११ रनको योगदान दिनुभयो ।
बलिङतर्फ लुम्बिनीका दीपेन्द्र रावतले तीन, कृष्ण कार्की र सन्दीप सुनारले दुई दुई तथा विक्रम भुषाल र अनिल खरेलले एक एक विकेट लिनुभयो । जवाफी ब्याटिङ गर्ने क्रममा लुम्बिनीका लागि प्रकाश केसीले ४१, सौरभ खनालले ३४, सन्दीप सुनारले २५, देव खनालले २६ तथा कप्तान कृष्ण कार्कीले ४१ रन बनाउनुभयो । बलिङतर्फ वाग्मतीका विपीन आचार्यले चार तथा गौतम केसीले दुई विकेट लिनुभयो ।
सुदूरपश्चिमको सान्त्वना जित
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले सान्त्वना जित निकालेको छ । समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले प्रदेश नं २ लाई तीन विकेटले पराजित गरेको हो ।
प्रदेश नं २ ले पहिला ब्याटिङ गर्दै ४२ ओभरमा सवै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । एक सय ९६ रनको विजय लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । उसका लागि सन्जु धामीले ५७ रनको अर्धशतकीय पारी खेल्नुभयो । यस्तै कप्तान खडक बोहोराले ४३, गजेन्द्र बोहोराले ३९ र अरुण ऐरीले १९ रन बनाउनुभयो । बलिङतर्फ प्रदेश–२ का कुमार थापाले तीन, हरिशङ्कर साहले दुई तथा विवेक यादव र रवि साहले एक एक विकेट लिनुभयो ।
यसअघि ब्याटिङ गर्ने क्रममा प्रदेश–२ का लागि हरिशङ्कर साहले ६०, विवेक यादवले ४१, महबुब आलमले २३, राहुलप्रताप सिंहले १२ तथा कुमार थापाले अविजित ११ रन बनाउनुभयो । बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले तीन तीन तथा अरुण ऐरीले दुई विकेट लिनुभयो । समूह ‘बी’ मा रहेको सुदूरपश्चिम यसअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । हारसँगै प्रदेश–२ पनि प्रतियोगिताबाट बाहिरिएको छ । रासस
प्रतिक्रिया