– हेमन्त केसी
दाउरा कम पाइने मध्यडोल्पाको काइके गाउँपालिकामा सबै घरधुरीलाई ग्यास वितरण गर्न लागिएको छ ।
दाउराको अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रत्येक घरधुरीलाई दुईवटा ग्यास र एक चुलो वितरण गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत सम्झना अधिकारीले राससलाई जानकारी दिनुभयो । सात वडा रहेको काइके गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजारको हाराहारीमा छ ।
सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा फागुन पहिलो साताभित्र सबैको घरघरमा ग्यास पुग्ने अधिकृत अधिकारीले जानकारी दिनुभयो । रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको उहाँको भनाइ छ । वनजङ्गल संरक्षण तथा धुवाधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको हो ।
अत्यधिक चिसो रहेको यहाँ दाउराबाट आगो बाल्न मुस्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भारी हिउँमा दाउरा नपाइने भएकाले तत्काल खाना पकाउन सजिलो होस् भनी ग्यास खरिद गरी गाउँपालिकाले स्थानीयवासीलाई दिन लागेको छ ।”
नेपालगञ्जबाट खरिद गरी मनकामनाको ग्यास जाजरकोट हुँदै डोल्पासम्म यातायातको साधनमा ढुवानी हुन्छ भने दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गर्न लागिएको प्रवक्ता रोकायले जानकारी दिनुभयो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गर्न लागिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० चुलो वितरण हुन लागेको हो । गाउँपालिकाको यो कामबाट सबैभन्दा बढी यहाँका महिला खुशी भएका छन् । घरायसी काममा व्यस्त हुने यहाँका महिला सधँै खाना पकाउन र बालबालिकालाई खाजा पकाउँदा हैरान हुँदै आएका थिए ।
ग्यास पाउने भए पनि आफू निकै खुशी भएको कार्यपालिका सदस्य थललक्ष्मी रोकायले जानकारी दिनुभयो । सडक सञ्जालसँग नजोडिएको काइकेमा खाद्यान्न ढुवानीदेखि अन्य दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा खच्चड वा मानिसले बोकेर लैजानुपर्ने बाध्यता छ ।
प्रत्येक घरलाई ढुवानी अनुदानको पिठो
डोल्पोबुद्ध गाउँपालिकाले यहाँका स्थानीयवासीलाई घरपिच्छे एक÷एक क्विन्टल पिठो (मैदा) ढुवानीमा अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकामा करिब ४९५ घरधुरीलाई ढुवानीमा अनुदान सहयोग गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम पङ्गेनीले जानकारी दिनुभयो ।
एक क्विन्टल पिठोमा रु सात हजार अनुदान दिइएको छ । बाँकी रु सात हजार भने स्थानीयवासी आफैँले बेहोरेका छन् । नेपालगञ्जबाट एक क्विन्टल पिठो डोल्पोबुद्ध पु¥याउन रु १४ हजार लाग्छ । कोरोना महामारीका कारण स्थानीयवासीको आम्दानी गुमेपछि गाउँपालिकाले पिठोमा अनुदान दिएको उहाँले बताउनुभयो । गाउँपालिकाले चालु आवमा पिठोमा अनुदान दिन रु ५० लाख छुट्याएको थियो । “ढुवानी खर्च धेरै महङ्गो भएकाले स्थानीय तहले सहयोग गरेको हो । यसबाट स्थानीयवासीलाई धेरै राहत भएको छ”, अधिकृत पङ्गेनीले भन्नुभयो ।
यहाँका स्थानीयवासीको आम्दानीको मुख्य स्रोत यार्सागुम्बा हो । उनीहरूले यार्सागुम्बा बेचेर कमाएको रकमले चीनको तिब्बतमा लाग्ने व्यापार मेलाबाट वर्षभरिलाई पुग्ने खाद्यान्न र अन्य सामान किन्ने गर्छन् । तर यस वर्ष कोरोना महामारीका कारण न त यार्सागुम्बा टिप्न पाए, न व्यापार मेला नै हुनसक्यो । जसले गर्दा आम्दानी गुम्नुका साथै खाद्यान्नलगायत सामग्री किन्नसमेत नपाएको स्थानीयवासीले बताएका छन् ।
स्थानीयवासी धार्के गुरुङले पालिकाले पिठो ढुवानीमा अनुदान दिएपछि ठूलो राहत मिलेको बताउनुभयो । गाउँमा पर्याप्त आम्दानी नहुने र बाहिरबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यताले गर्दा वर्षेनी स्थानीयवासीले खाद्यान्न सङ्कट भोग्दै आएका उहाँले गुनासो गनुभयो । उपल्लो डोल्पाका ग्रामीण भेगमा चामल प्रतिक्विन्टल रु १२ देखि २० हजारसम्ममा बिक्री हुने गर्दछ ।
प्रतिक्रिया