नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले प्रधानमन्त्रीको त्रुटि सच्याउनका लागि आन्दोलनको विकल्प नभएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको बनेपामा आज राष्ट्रिय युवा सङ्घ नेपाल र अनेरास्ववियु जिल्ला कमिटीले आयोजना गरेको बृहत युवा विद्यार्थी भेलामा उहाँले पार्टी एकता गर्ने बेलामा देखेका सपना पूरा गर्नुको साटो तुसारापात गर्न खोजिएकाले दवावस्वरुप आफूहरु आन्दोलनमा होमिएको प्रष्ट्याउनुभयो ।
प्रधानमन्त्रीले पार्टीले देखेका सपना भुल्दै गएको र राज्य संयन्त्रका सबै शक्ति आफ्नो हातमा लिएर एकलौटी ढङ्गले अगाडि बढेको कारण अहिलेको अवस्था सिर्जना भएको उहाँको तर्क थियो । नेता शर्माले गलत निर्णयलाई आपूmहरुले रोक्दै जाने क्रममा संसद् विघटन गर्नेसम्म अवस्थामा पुगेको कारण संसद् पुनःस्थापना र लोकतन्त्र रक्षार्थ आन्दोलन थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्राप्त उपलब्धीहरु सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक प्रणालीमाथि प्रहार भएको छ, यी जनताका अधिकार हडप्ने अधिकार कसैलाई छैन ।” अहिलेको लोकतन्त्र कुनै सरकारी कार्यालयबाट प्राप्त भएको र कसैले दिएको बक्सिस नभएर नेपाली जनताको त्याग र बलिदानीबाट प्राप्त भएकाले यसको सुरक्षाका आम जनता एकताबद्ध हुनुपर्ने बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य रचना खड्काले युवा र विद्यार्थीले गलत र सही छुट्याएर मुलुकलाई अगाडि बढाउने बाटोमा उभिन आवश्यक रहेको बताउनुभयो । उहाँले नेकपाको अर्को पक्षले सबैलाई पद बाँडेर अपमान गरेको आरोप लगाउँँदै राजनीतिक एजेण्डामा केन्द्रित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । अनेरास्ववियूका केन्द्रीय सह–संयोजक रञ्जित तामाङले प्रधानमन्त्रीले चालेको कदमलाई नसच्याएसम्म आन्दोलन जारिरहने बताउनुभयो । रासस
प्रतिक्रिया