जापानमा निधन भएका खत्रीको परिवारलाई आर्थिक सहयोग

जापानमा निधन भएका खत्रीको परिवारलाई आर्थिक सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोजगारीका सिलसिलामा जापानमा निधन हुनुभएका गलकोट नगरपालिका–४ खरुवाका पूर्णबहादुर खत्रीको परिवारलाई गलकोट समाज जापानको पहलमा सङ्कलित रु ३२ लाख ६३ हजार ४५९ आर्थिक सहायता प्रदान गरिएको छ ।

उक्त सहायता रकमको चेक आज गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरे र गलकोट समाजका अध्यक्ष हर्कबहादुर पाण्डेले संयुक्तरूपमा दिवङ्गत खत्रीकी श्रीमती मुना खत्रीलाई हस्तान्तरण गर्नुभयो । जापान गएको तीन वर्ष नपुग्दै मस्तिष्क घातका कारण निधन हुनुभएका खत्रीको परिवारलाई राहत प्रदान गर्ने उद्देश्यले गलकोट समाज जापानले सहयोग अभियान चलाएको थियो । अभियानमा जापानमा रहेका विभिन्न सङ्घसंस्था र गलकोटदेखि जापान पुगेका प्रवासी नेपालीहरु जोडिएका थिए ।

नगरप्रमुख गैरेले गलकोट समाज जापानलगायतका प्रवासी नेपालीका संस्थाले दुःख, पीडामा परेका गलकोटवासीको सारथी बनेर मातृभूमिप्रतिको उत्तरदायित्व निभाएको बताउनुभयो । उहाँले सामाजिक विकास र मानवीय सेवाका क्षेत्रमा ती संस्थाले पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्नुभयो । गलकोट समाज जापानको अगुवाइमा गलकोट समाज गलकोट, बागलुङ समाज जापान, दाजुभाइ वशिष्ठ गैरे खत्री परिवार जापान, निलुवा समाज जापान, खरुवा समाज जापानलगायतका सङ्घसंस्था र व्यक्तिहरु मिलेर आर्थिक सहयोग जुटाएको गलकोट समाज गलकोटका अध्यक्ष पाण्डेले बताउनुभयो ।

उहाँले दिवङ्गत खत्रीका बालबच्चाको पढाइ र सुरक्षित भविष्यका लागि उक्त सहयोगले ठूलो भूमिका खेल्ने बताउनुभयो । अध्यक्ष पाण्डेले नेपालसहित विभिन्न देशमा रहेका गलकोट समाजहरु सामाजिक सेवाका क्षेत्रमा क्रियाशील रहेको उल्लेख गर्नुभयो । राहत अभियानबाट रु ४० लाख ५० हजार ३१६ सङ्कलन भए पनि दिवङ्गत खत्रीको उपचार र दाहसंस्कारमा खर्च भएको रकम कटाएर बाँकी रहेको रकम परिवारलाई हस्तान्तरण गरिएको हो । दिवङ्गत खत्रीका तीन छोरी र एक छोरा हुनुहुन्छ । ३८ वर्षीय खत्रीको गत पुस २४ गते उपचारका क्रममा जापानको अस्पतालमा निधन भएको थियो ।