विपद् जोखिमको प्रयोगात्मक अभ्यास

विपद् जोखिमको प्रयोगात्मक अभ्यास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अजितकुमार झा

सुनसरी सदरमुकाम इनरुवा–४ का सन्तोष शर्माले आज एक्कासी सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको मोबाइलमा फोन गरेर इनरुवा भएर बग्ने सुनसरी खोलामा बाढी आएको र केहीको घर बगाउनुका साथै स्थानीयवासी विस्थापित हुन पुगेको सूचना दिनुभयो ।

प्रजिअ पोखरेलले कहाँ, कसरी, कति, के के भएको ? भनेर सोध्नुभयो, सूचना कर्ता शर्माले इनरुवा नगरपालिका–४ रेडक्रस ग्राममा सुनसरी खोलामा आएको बाढीले केहीको घर बगाएको र केही मानिस फसेको बताएपछि उहाँले तत्काल उद्धार टोली, सुरक्षा निकाय र एम्बुलेसलाई खबर गरी घटनास्थलतर्फ पठाउनुभयो ।

बाढीमा हताहाती भएका केहीलाई उद्धार गर्नुभयो तर शर्माले गरेको फोन र प्रजिअ पोखरेलले गरेको उद्धार कार्य जलउद्धार अभ्यासको प्रदर्शनी मात्र थियो, वास्तविक घटना थिएन । हेर्दा वास्तविक घटना भए पनि आज रेडक्रस सोसाइटी र जिल्ला विपद् व्यवस्थापन समिति सुनसरीले आयोजना गरेको जलउद्धार अभ्यास प्रदर्शनी कार्यक्रमको दृश्य थियो ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले जलउद्धार अभ्यास प्रदर्शनी गरेको हो । विपद् व्यवस्थापनका बेला खटिने सुरक्षा निकायको क्षमता विकास अभिवृद्धिका साथै समूहगत कार्य गर्ने परिपाटीको विकास गर्ने उद्देश्यले जलउद्धार अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । सुनसरी खोलामा आएको बाढीमा मानिस फसेको र डुबानले केही मान्छे बाहिर सुरक्षित स्थानको खोजीमा रहेको सूचना प्राप्त हुने वित्तिकै प्रजिअ पोखरेलले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको दुई टोलीलाई रबरको बोट लिएर खोलामा पठाएको जानकारी दिनुभयो । घटनास्थलमा पुग्दा चार जना मानिस डुबानको जोखिममा परेका रहेछन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली पुग्दा उनीहरु खोला किनारमा आधा डुबेको अवस्थामा फेला परेको थियो । टोलीले सबैलाई उद्धार गरेर बाहिर ल्याएका थिए ।

खोलाको छेउमा ल्याएपछि डुबान पीडितलाई रेडक्रसको टोलीले प्राथमिक उपचार गरेका थिए । केही समयपछि सबै जनालाई थप उपचारका लागि इनरुवा अस्पताल पठाएको थियो । सो अवसरमा नदीमा डुबेकाको उद्धार कसरी गर्ने भन्ने बारेमा प्रदर्शन गरिएको थियो । प्रदर्शनमा रबरको बोट प्रयोग गरिएको थियो । उद्धार गर्न गएका टोली रेडक्रम ग्राम पुग्दा स्थानीयवासीले अभिरुचीपूर्वक हेरिरहेका थिए ।

वर्षाको समयमा आउने बाढीबाट सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका आधा दर्जनभन्दा बढी गाउँ डुबानको चपेटामा पर्ने गरेको छ । सुनसरी खोलाको तटीय क्षेत्रमा पर्ने भोक्राहा, नरसिंह, हरिनगर गाउँपालिका डुबानको जोखिममा पर्दै आएको छ । यो वर्ष भने डुबान आएको छैन । सो अवसरमा डुबानमा फसेकालाई बोटमा राख्ने, बाहिर ल्याउनेदेखि नदीमा डुङ्गा पल्टेर डुबेकाको उद्धार कसरी गर्ने, उद्धारपछि उपचार र विस्थापितलाई आवाससहित राहतको व्यवस्था कसरी गर्ने भन्नेबारेमा प्रदर्शन गरिएको थियो ।

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुनसरीद्वारा सञ्चालित विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा कार्यक्रमको प्राविधिक सहयोगमा जलउद्धार अभ्यासको प्रदर्शनी गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो ।

विपद्का बेला उद्धार गर्ने सम्बन्धमा पूर्वअभ्यास देखाउने, नदीमा बगेको मानिसलाई कसरी उद्धार गर्ने भन्ने विषयमा प्रदर्शनी गरिएको र विपद् व्यवस्थापन समितिसँग भएका उद्धार सामग्रीको प्रदर्शनीसमेत भएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि स्थानीय समुदायका व्यक्तिलगायत सहभागिता रहेको थियो । यसैबीच आगलागीका भएमा कसरी सुरक्षित हुने सम्बन्धमा पनि पूर्व अभ्यास गरिएको नेपाल रेडक्रस सोसाइटी सुनसरीका उपकोषाध्यक्ष विष्णु मण्डलले जानकारी दिनुभयो ।रासस