प्रधानमन्त्री कपको उपाधि आर्मी क्लबलाई

प्रधानमन्त्री कपको उपाधि आर्मी क्लबलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको उपाधि जितेको छ । आर्मीले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३४ रनले हराउँदै पहिलो पटक उपाधि चुमेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज एपीएफले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा नौं विकेट गुमाउँदै २११ रन बनायो । २१२ रनको विजय लक्ष्य पछ्याउने क्रममा एपीएफले ४१ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७८ रन मात्र बनायो । आर्मीले आजको खेलमा अनिल मण्डल र सुशन भारीलाई प्रारम्भिक ब्याट्सम्यानका रुपमा मैदानमा पठाएको थियो । पहिलो विकेटका लागि दुवै जनाले ३२ रनको साझेदारी गर्नुभएको थियो । भारीले १३ तथा मण्डलले ११ रन बनाउनुभयो । आर्मीका लागि भीम सार्कीले सात, रोहित पौडेलले १३, कप्तान विनोद भण्डारीले सातm हरि चौहानले ५८, लोकेश बलमे १५ तथा साहब आलमले २५ रनको योगदान दिनुभयो ।

प्रधानमन्त्री कप एकदिवसीय पुुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिबार उपविजेता टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ट्रफि प्रदान गर्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा शनिबार फाइनल खेल त्रिभुुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको खेल भएको थियो । तस्वीर ः रोशन सापकोटा÷रासस

बलिङतर्फ अभिनाश बोहोराले चार तथा किशोर महतोले दुई विकेट लिनुभयो । जवाफी ब्याटिङ गर्ने क्रममा एपीएफका लागि आशिफ शेखले ६१, शंकर रानाले २१, सुवास खकुरेलले १४, सुमित महर्जनले १९ तथा सन्दीप जोराले २९ रन बनाउनुभयो । बलिङतर्फ आर्मीका लागि विक्रम सोब, जितेन्द्र मुखिया र साहब आलमले तीन तीन विकेट लिनुभयो । एपीएफको कप्तानी शरद भेषवाकरले तथा आर्मीको नेतृत्व विनोद भण्डारीले गर्नुभएको थियो ।

एपीएफले नेपाल पुलिस क्लबलाई तथा आर्मीले बागमती प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ मै रहेका दुवै टोली अन्ततः फाइनल प्रवेश गर्न सफल भएका थिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु १० लाख तथा उप विजेताले रु पाँच लाख पुरस्कार प्राप्त गरे । रासस