जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले वर्तमान अवस्थाको कारक सत्ताधारी दलको द्वन्द्व भएको बताउनुभएको छ ।
राष्ट्रिय इञ्जिनीयर सङ्घको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्र्दै उहाँले सत्ताधारीद्वारा सङ्कट उत्पन्न गरी संविधानमाथि नै प्रहार हुने कार्य भएको आरोप लगाउनुभएको हो ।
अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि परेको सङ्कटकै कारण संसद् विघटन गर्न पुगेको आरोप लगाउँदै प्रधानमन्त्रीले सङ्कट उत्पन्न गरी आफूलाई ठूलो राष्ट्रवादी भन्न रुचाउने र संसद् पुनःस्थापना गर्नेलाई उहाँ ठूलो राष्ट्रद्रोही ठान्नुहुन्छ भन्नुभयो । उहाँले सङ्घीय संरचना प्राप्त भए पनि शासन विभेद् गर्नेहरूको हातमा भएकाले त्यसको प्रतिफल प्राप्त हुन सकेको छैन भन्नुभयो ।
सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले जनताका लागि संविधान र व्यवस्था आउन नसकेका कारण देशमा पटक पटक समस्या उत्पन्न हुने गरेको धारणा राख्नुभयो ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वास गुमाइ सक्नुभएको आरोप लगाउनुभयो । सङ्घका अध्यक्ष भगवान् झाको अध्यक्षतामा भएको सो समारोहमा जनता समाजवादी पार्टीका नेताहरू शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवलगायतले सङ्कटको समाधानमा सबैको पहल आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रतिक्रिया