असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

असहाय गाईबाच्छालाई सहयोग गर्नेको सङ्ख्या बढ्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जन्मदिनका अवसरमा असहाय गाईबाच्छा संरक्षण अभियानलाई सहयोग गर्नेको सङ्ख्या बढ्न थालेको छ । अभियानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरपूर्वी कुनास्थित वाग्मती नदी किनार र कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा सडकमा छोडिएका गाईबाच्छ जम्मा गरी संरक्षण गर्दै आएको छ ।
अभियानलाई गोकर्णेश्वर नगरपालिका–८ बेँशीगाउँ निवासी समाजसेवी दीपकसिंह भण्डारीले आफ्नो जन्मदिनको उपलक्ष्यमा असहाय गाईबाच्छालाई रु पाँच हजार सहयोग गर्नुभएको छ । असहाय गाईबाच्छा संरक्षण अभियानमा सबैको सहयोग हुनुपर्ने लागेर आफू संरक्षण स्थल पुगी थोरै भएपनि सहयोग गरेको उहाँले सुनाउनुभयो ।

गोकर्णेश्वर नगरपालिका–४ मा बसोवास गर्ने नेपाल मेडिकल कलेज, जोरपाटी कर्मचारी युनियनका अध्यक्ष किरण केसीले पनि जन्मदिनको अवसरमा गाईबाच्छालाई खुवाउन खाद्यान्नको लागि नगद रु पाँच हजार सहयोग गर्नुभएको छ । उहाँहरु मात्र होइन, आजभोलि जन्मदिनका अवसरमा असहाय गाईबाच्छालाई सहयोग गर्नेको भीड लाग्ने गरेको छ ।

काँठ क्षेत्रमा गाई पाल्नेले बाच्छा जन्मिएको एक महिना पनि नबित्दै सडक, मठमन्दिर, सार्वजनिकस्थल, नदी किनारलगायत स्थानमा लगी छोड्ने गरेका छन् । गाई पनि बुढा भएपछि यसैगरी छाडिने गरेको छ । संविधानमा राष्ट्रिय जनावरको मान्यता दिइएको गाईको यो अवस्था हुँदा पनि सरोकारवाला निकाय मौन रहेकाले नागरिकस्तरबाट अभियान शुरु गरिएको संयोजक उत्तम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

अभियानले हाल २०० असहाय गाईबाच्छाको संरक्षण गरिरहेको छ । घाइते, असहाय र अशक्त गाईबाच्छा उठाउन एम्बुलेन्सको समेत व्यवस्था भएकाले अभियानलाई काममा सहज भएको जनाइएको छ । त्यस्ता गाईबाच्छालाई उपचार गर्दै खाना र ओतको व्यवस्था गरिएको छ ।

राजधानीमा मात्र नभई मुख्य–मुख्य शहर एवं भारतसँग सीमा जोडिएका जिल्लामा पनि असहाय गाईबाच्छाको सङ्ख्या सडकमा बढेको देखिएकाले सरोकारवाला निकायको ध्यान जानुपर्ने संरक्षण अभियानकर्मीको माग छ । स्थानीय सरकारले गाईपालक किसानको सूची तयार गरी बाच्छा जन्मिएको अभिलेख राख्ने व्यवस्था गरेर नियमित अनुगमन गरे यो समस्या कम हुनेछ ।