फुटबलर बुढाथोकीलाई आइलिग खेल्ने अवसर

फुटबलर बुढाथोकीलाई आइलिग खेल्ने अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालका लोकप्रिय राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकीले एसियाकै प्रतिष्ठित मानिने भारतको आइलिग खेल्ने अवसर पाउनुभएको छ ।

भारतको मणिपुरस्थित नेरोका एफसीमा अनुबन्धित भएपछि उहाँले उक्त अवसर पाउनुभएको हो । आइलिग भारतको ‘ए’ डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान उपमहानगरपालिका–२० पटनाली निवासी बुढाथोकीलाई यहाँको पुरानो फुटबल क्लब धरान फुटबल क्लबले आज बिदाइ गरेको छ । एन्फा १ नं प्रदेश अध्यक्ष तथा क्लबका अध्यक्ष किशोर राईले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । क्लबले उहाँलाई रु आठ हजार नगद पनि प्रदान गरेको थियो ।

धरान फुटबल क्लबबाट आफ्नो फुटबल यात्रा शुरु गर्नुभएका बुढाथोकीले नेपालको राष्ट्रिय टोलीबाट खेल्दै आउनुभएको थियो । आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्धन गर्दा खुशी लागेको उहाँले बताउनुभयो । “उत्कृष्ट प्रदर्शन गर्न हरसम्भव प्रयास गर्नेछु, यो अवसरलाई चुक्न दिने छैन, नेपाली खेलाडीको सान बनाउने मेरो लक्ष्य छ”, उहाँले भन्नुभयो ।

उहाँ आइलिगमा खेल्ने अवसर पाउने दोस्रो नेपाली खेलाडी हुनुहुन्छ । दुई वर्षअघि किरण चेम्जोङले आइलिग खेल्ने अवसर पाउनुभएको थियो । सत्ताइस वर्षीय बुढाथोकी शहीद स्मारक ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको तीन पटकका विजेता टोलीबाट खेलिरहनुभएको थियो । त्यस्तै भूटानको ‘ए’ डिभिजनमा पारो एफसीबाट सन् २०१८ को याममा उपविजेता हँुदा सहभागी हुनुभएको थियो ।