बागलुङमा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना, ९४ वर्षीया आमाले थापेको सामाजिक सुरक्षा भत्ता पनि कोषमा राखियो

बागलुङमा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना, ९४ वर्षीया आमाले थापेको सामाजिक सुरक्षा भत्ता पनि कोषमा राखियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २२ माघ । दिवङ्गत टीकाराम खरेलका सम्मानमा गलकोट नगरपालिका–९ मल्म छिसकी ९४ वर्षीया धनकला र सन्ततिले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन् ।

जिल्लामा सक्रिय एक पत्रकारलाई वर्षेनी पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु एक लाख बराबरको पुरस्कार कोष खडा गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिनुभयो । गलकोट पत्रकार समाजका अध्यक्षसमेत रहनुभएका उहाँले कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिने बताउनुभयो ।

“आमाले ज्येष्ठ नागरिक भत्ताबापत पाएको रकम पुरस्कार कोषमा जम्मा गर्नुभएको छ, परिवारका तर्फबाट पनि सहयोग थपिएको छ”, मित्रले भन्नुभयो, “दिवङ्गत बुबाको सम्मान होस् र पुरस्कारमार्फत पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुगोस् भन्ने सोचेर कोष स्थापना गरेका हौँ ।”

पत्नी धनकला पुरस्कारका संरक्षक तथा छोराहरु मित्र र लीलाधर, बुहारी सीता र देवकी, छोरी मनकुमारी एवं मनरुपा सापकोटा कोषको संस्थापकका रुपमा रहनुभएको छ । महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले अलग्लै कार्यविधि बनाएर पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन गरिने बताउनुभयो ।

“महासङ्घका योसहित चारवटा पुरस्कार कोष छन्, सबै पुरस्कार फरक–फरक विधामा प्रदान गरिन्छ”, उहाँले भन्नुभयो, “पत्रकारितामा ऊर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ ।” अध्यक्ष शिरीषले पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको बताउनुभयो । कोषको रकम संरक्षक धनकला र उहाँका परिवारका सदस्यले मङ्गलबार महासङ्घका शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गर्नुभएको थियो । -रासस