काठमाडौं, २४ माघ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जनचेतनाको कमीका कारण कोरोना विरुद्धको पहिलो चरणको खोपले लक्ष्य भेट्न नसकेको बताएका छन् । डा. राजभण्डारीले शनिवार अन्तिम दिनको कोरोना विरुद्धको खोप लगाइरहेको जानकारी दिए ।
डा. राजभण्डारीले भने, ‘कोरोना विरुद्धको खोप अभियानको पहिलो चरण आज अन्तिम दिनको खोप लगाइँदै छ। आजसम्मको तथ्याङ्क हेर्दा सरकारले लिएको लक्ष भन्दा धेरै कम मात्र खोप लागेको छ। यसको प्रमुख कारण जनचेना नपुग्नु नै हो।’
काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट एकैसाथ कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। गत १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको भर्चुअल माध्यामबाट शुभारम्भ गरेका थिए।
भारत सरकारले अनुदानमा १० लाख डोज खोप नेपाल पठाएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप दिने लक्ष लिएको थियो।
डा. राजभण्डारीका अनुसार अहिलेसम्म टेकु अस्पतालबाट करिव ३ हजारले कोरोना विरुद्धको खोप लगाएका छन्। यस्तै देशभरमा २ लाखको हाराहारीले कोरोना विरुद्धको खोप लगाएको राजभण्डारीले जानकारी दिए।
‘जनचेतना संगसँगै दोधारमा भएका कारण पनि कोरोनाको खोप अभियानले लक्ष भेट्न नसकेको हो।’ डा. राजभण्डारीले भने, ‘धेरै ठाउँमा स्वास्थ्यकर्मी बाहेक सबै दोधारमा पर्नु भयो। लगाउने की नलगाउने भयो। कतिठाउँमा स्वास्थ्यकर्मीले पनि खोप लगाउन पाएनन्।’
विकट जिल्लाहरुको उदाहरण दिँदै डा. भण्डारीले भने, ‘हामीलाई चुनौति थियो। पहिलो पटक नेपाल आएको खोप। समस्या के हुन्छन्, कसरी राख्ने लगायतका विषयहरुका बारेमा पूर्ण पूर्वाधार नभएकाले पनि यो खोप विकट गाउँमा पुग्न सकेन। त्यसैले पनि लगाउनेको संख्यामा कमी आएको हो।



प्रतिक्रिया