काठमाडौं, २४ माघ । नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा पुनर्स्थापना नभए सर्वनाश हुने बताएका छन् । उनले देश सर्वनाश हुन्छ कि ओली वा आफ्नो समूह सर्वनाश हुन्छ त्यो भने खुलाएनन् ।
नेता भुसालले यतिमात्र भने, ‘प्रधानमन्त्री ओलीको कदमपछि अब अरू कुनै उपाय छैन, कि संसदको पुनर्स्थापना हुन्छ, कि सर्वनाश । यो पक्का हो ।’
फागुन दोस्रो सातादेखि देशमा डरलाग्दो राजनीतिक संकट आउने समेत उनले चेतावनी दिए । उनले भने, ‘अबको विकल्प कि प्रतिनिधि सभा पुनर्स्थापना कि सर्वनाश ।’
अबको तीन सातामा संसद पुनर्स्थापना नभए देश बर्बादीतर्फ अघि बढ्ने उनले चेतावनी दिए । उनले भने, ‘त्यसलाई जोगाउन आम नेपाली एक ठाउँमा उभिनुको विकल्प छैन ।’
झापाको विर्तामोडमा आफ्नो समूहका कार्यकर्तालाई प्रशिक्षण दिँदै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक गतिविधिका कारण मुलुक राजनीतिक संकटमा पुग्न लागेको दाबी गरे ।
प्रधानमन्त्री केपी ओलीले विघटन गरेको संसद पुनर्स्थापनाको मुद्दा सहजै जितिनेमा नेता भुसाल विश्वस्त थिए।
उनले यतिसम्म भने कि ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा कुनै पनि हालतमा जित्नै पर्छ। फेरि पनि दोहोर्याउँदै उनले भने, ‘सर्वनाश हुन दिनु हुँदैन।’
प्रतिक्रिया