काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेश सङ्गठन कमिटीले शुक्रबार नारायणहिटी सङ्ग्रहालय अगाडि गरिएको वृहत जनसभा सफल बनाएकोमा सवैलाई धन्यवाद ज्ञापन गरेको छ ।
कमिटीका अध्यक्ष आनन्द पोखरेलले आज विज्ञप्ति जारी गर्दै वृहत सभा सफल बनाएकोमा पार्टी केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत सञ्चारकर्मी, नागरिक समाज र जनसमुदायप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको हो ।
उहाँले सभाको कारण काठमाडौँका ट्राफिक जामका कारण आवतजावतमा असहज अवस्थामा पनि सहजताका साथ कार्यक्रम सफल बनाउन समर्थन र सद्भाव सहित सहयोग गर्नुहुने काठमाडौँ उपत्यका लगायत सवै समुदायप्रतिसमेत धन्यवाद व्यक्त गर्नुभयो । नेकपाले “अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ नारायणहिटी सङ्ग्रहालय अगाडि शुक्रबार सभा गरेको थियो ।
सभालाई नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा र स्थायी कमिटी सदस्य सत्यनाराणय मण्डलले सम्बोधन गर्नुभएको थियो । -रासस
प्रतिक्रिया