एजेन्सी, २५ माघ । क्रिस्टियानो रोनाल्डोले सिजनको २३औं गोल गरेको खेलमा युभेन्ट्सले ‘इटालियन सिरि ए’ मा रोमालाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई २-० गोलले पराजित गरेको हो।
खेलको १३ मिनेटमा रोनाल्डोले युभेन्ट्सका लागि पहिलो गोल गरे। गत शुक्रबार ३६ औं जन्मदिन मनाएका रोनाल्डोलाई मोराटाले गोलका लागि पास उपलब्ध गराएका थिए। खेलको ६९ मिनेटमा रोमाका डा सिल्भाले आफ्नै पोस्टमा गोल गरेपछि युभेन्ट्सको अग्रता दोब्बर भएको थियो।
जितसँगै युभेन्ट्स रोमालाई पछि पारेर अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। युभेन्ट्सको २० खेलबाट ४२ अंक भएको छ। चौथो स्थानमा झरेको रोमाको २१ खेलबाट ४० अंक छ।
शीर्ष स्थानको इन्टर मिलानको २१ खेलबाट ४७ अंक छ भने दोस्रो स्थानको एसी मिलानको २० खेलबाट ४६ अंक रहेको छ।
प्रतिक्रिया